१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
धनकुटामा ४ राजनीतिक पार्टीको बन्यो गठबन्धन, एमालेलाई धक्का
धनकुटामा ४ राजनीतिक पार्टीको बन्यो गठबन्धन, एमालेलाई धक्का
  • paschimpatra

धनकुटा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा ४ वटा राजनीतिक दलहरु एक भएर जाने भएका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा धनकुटामा सात वटै स्थानीय तहमा प्रमुख तथा उपप्रमुख नेकपा एमालेले जितेको थियो । तर आज धनकुटामा क्रियाशील ४ वटा राजनीतिक पार्टीले आगामी स्थानीय निर्वाचनमा एक भएर जाने घोषणा गरेसँगै एमालेलाई ठेस लाग्ने देखिएको छ ।

धनकुटामा क्रियाशील नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन मिलेर भाग लिने घोषणा गरेका छन् ।

सो पत्रकार सम्मेलनमा चार पार्टीका जिल्ला अध्यक्षहरुले धनकुटाका सात वटै पालिकामा संयुक्त रुपमा उम्मेदवारी दिने घोषणा गरे । उनीहरुले कुन पालिका कसले लिने भन्दा पनि धनकुटाको आवश्यकतालाई हेरेर सबै तहमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति बनेको बताए ।

सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेकपा माओवादी केन्द्रका संयोजक डिल्लीराम राई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका अध्यक्ष बलबहादुर राईले जस्तोसुकै परिस्थितीमा पनि धनकुटामा चार दल एक भएर अघि बढ्ने प्रतिवद्धता जानाए ।

सो पत्रकार सम्मेलनमा सबै पार्टीका अध्यक्षहरुले आफ्ना सांगठानिक संरचनाहरुलाई समेत स्थानीय स्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावना अनुसार चुनावी अभियानमा लाग्न निर्देशन दिएका छन् । साथै उनीहरुले धनकुटामा रहेका अन्य राजनीतिक पार्टीलाई समेत आगामी निर्वाचनमा गठबन्धनमा सामेल हुन आग्रह गरेका छन् ।

‘आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचन मार्फत् यी तमाम विसंगति, वेतिथी, भ्रष्टाचार, तदर्थवाद, व्यक्तिवाद र असंवैधानिक कदमहरुलाई धनकुटा जिल्लामा क्रियाशील तपशिल बमोजिमका राजनीतिक दलहरु परास्त गर्न चाहन्छ’ सो पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ, ‘त्यसका निमित्त उच्च राजनीतिक संस्कार सहित चुनावी सहकार्य मार्फत् सामुहिक मर्म, भावना र उदेश्यहरुलाई पूरा गर्न जसरी राष्ट्रिय र प्रदेशस्तरमा गठबन्धन अगाडी बढेको छ, सोही भावनालाई हृदयंगम् गरी स्थानीय तहहरुमा समेत आवश्यकताका आधारमा हामी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै हाम्रा सांगठानिक संरचनाहरुलाई समेत स्थानीय स्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावना अनुसार चुनावी अभियानमा लाग्न निर्देशन गर्दछौं ।’

  • ७ चैत्र २०७८, सोमबार प्रकाशित
  • Nabintech