जाजरकोट । भेरी नगरपालिका ‒१३ को वडा कार्यालय पाँच दिनदेखि बन्द छ । वडाध्यक्ष र सचिववीच विवाद हुदाँ वडा बाट प्रवाह हुने सेवा ठप्प छन् । शुक्रबार विहान १० बजे नै पिछडिएको सिफारिस लिन कुदुका अर्जुन गिरी वडा कार्यालयमा पुगे । दिउँसो १ बजे सिफारिस लिई काठमाण्डौं जाने भनेर बस कुरेर बसेका उनी वडा कार्यालयमा कर्मचारी नआउँदा १२ बजे सम्म उनको सिफारिसको काम भएन ।
पछि भेरी नगरपालिकाको कार्यालय बाट उनको सिफारिस आयो त्यसमा वडाध्यक्ष यज्ञ बटालाले हस्ताक्षर र छाप हानेर उनलाई पिछडिएको सिफारिस दिए । अर्जुनले भने, ‘म १२ बजे सम्म वडा कार्यालयमा कुरे, वडा कार्यालय खुलेन्, सिफारिसका लागि एक जना दाईले नगरपालिकामा फोन गरिदिनुभयो, त्यसपछि मेरो काम भयो ।’
छोरीको पिछडिएको सिफारिसकै लागि वडा कार्यालयमा पर्खिरहेकी अर्की सेवाग्राही अस्मिता विक तीन घण्टाभन्दा बढी वडा कार्यालयमा पर्खिन । वडा कार्यालयमा वडा सचिव नआउँदा उनको काम भएन् । वडाको मुल गेटमा ठूला ताला लागेको छ । कर्मचारी आउँदैनन् ।
सेवाग्राही सेवाबाट वञ्चित छन् । अस्मिताले भनिन्, ‘म १० बजे नै छोरीको पिछडिएको सिफारिस लिन आएकी थिए, वडामा कोही कर्मचारी छैनन्, कतिवेला आउने हुन्, कुनै जानकारी छैन । मेरो काम भएकै छैन् ।’
सेवा लिन आउने यिनीहरु त केही उदाहरण पात्र मात्रै हुन् । वडा नं. १३ का वडावासीहरु अहिले सेवा पाउन बाट बञ्चित छन् । सेवा कहिले बाट नियमित हुन्छ भन्ने अत्तोपत्तो छैन् । ६ फागुन २०८१ मा वडा समितिको बैठक बसेको थियो । वडाध्यक्ष यज्ञ बटाला र वडा सचिव अन्जना हमाल वीच वादविवाद भएको थियो । वडाध्यक्षले बैठकमा सचिवलाई हातपात गरेको आरोप लाग्यो । सचिवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईन् ।
प्रहरी कार्यालयले दुवै पक्षलाई बोलाई छलफल गरी सहमति गराएको थियो । दुवै पक्षले मिलेर नियमित कामकाज गर्ने गरी सहमति भयो । नगर उपप्रमुख सीता जैसीले पनि दुवै पक्षलाई बोलाइ छलफल गरेकी थिईन् । नियमित सेवा प्रवाह गर्ने सहमति भएपनि वडा सचिव अन्जना हमाल वडा कार्यालयमा नआउँदा सेवा प्रवाहमा निकै समस्या भएको छ । वडा नं. १३ का वडाध्यक्ष यज्ञ बटालाले आफु माथि नगरले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् । उनले भने, ‘वडा सचिव सँग पहिले पनि विवाद भईरहेको थियो, यिनको ठाउँमा अरुलाई पठाईदिन माग गर्दा पनि सुनुवाई भएको छैन् ।’
‘वडा सचिवले सेवा प्रवाहमा ध्यान नदिएको, धेरै पटक जिल्ला बाहिर गईरहने सेवाग्राही सन्तुष्टी नभएपछि मैले अर्का कर्मचारी प्रमुख प्रशासकीय अधिकृत सँग पटकपटक माग गरिरहेको छु, उनले थपे, ‘उहाँहरुले खै किन पठाउनुभएको छैन्, अहिले मलाई वेस्सरी लखेटिरहनुभएको छ ।’
कर्मचारीको विषयमा पटक पटक नगर कार्यपालिका बैठकमा कुरा उठाएपनि राजनीतिक पूर्वाग्रह राखेर कुनै सुनुवाई नभएको वडाध्यक्ष बटालाको आरोप छ । वडाध्यक्ष र सचिव वीचको विवादले सेवाग्राही समस्यामा परेपनि नगरपालिकाले सेवाप्रवाहका विषयमा कुनै पहल थालेको छैन् । वडा सचिव हमाललाई हामीले पटकपटक फोन गर्दा उनको फोन उठेको छैन् । कर्मचारी र वडाध्यक्षको विवादले सेवाग्राहीले सेवा नपाउनु निकै दुःखद कुरा हो । राजनीतिक दलका आ आफनै अडानले सेवाप्रवाहमा समस्या परिरहेको कतिपयको बुझाई छ ।