१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्मः प्रवक्ता कार्की
सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्मः प्रवक्ता कार्की

सरकारको ध्यान तीनै तहको निर्वाचन सम्पन्न गर्नमा केन्द्रित

  • paschimpatra

बाँके । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले विशेष परिस्थितीमा विशेष उद्देश्यका साथ गबन्धनको निर्माण भएको र यो गठबन्धनले संविधानको रक्षा गरेको बताए।

‘यो गठबन्धनले कानुनी शासनको प्रत्याभूति गरेको छ र सुशासन दिने जुन सरकारको दायित्व हो, त्यो सरकारले जनतालाई प्रत्याभूत गरिरहेको छ’, उनले भने, ‘यो गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहन्छ।’ आसन्न निर्वाचनमा आवश्यकता अनुसार वास्तबिकतालाई गम्भीर रुपले विश्लेषण गरेर अगाडी बढ्ने कांग्रेस नेता समेत रहेका कार्कीले बताए।

गठबन्धन कसैका विरुद्ध नगरिएको प्रष्ट्याउँदै उनले भने, ‘यो कुरा धेरै पटक सम्माननीय प्रधानमन्त्री ज्युले पनि अभिव्यक्त गरिसक्नु भएको छ, यो गठबन्धन मुलुकको एकता र स्थिरताको लागि हो, कसैका विरुद्ध होइन।’ कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी जनताको भावना अनुसार चल्ने बताए।

सरकारको ध्यान तीनै तहको निर्वाचन सम्पन्न गर्नमा केन्द्रित रहेको भन्दै कार्कीले भने, ‘समाजलाई एकताबद्ध गराएर तीन वटै तहको निर्वाचनलाई शान्तिपूर्ण र निश्पक्ष रुपमा सम्पन्न गर्ने हो।’

एमसिसी सम्झौताका विषयमा बाहिर अनेक खालका भ्रम फैलिएको भन्दै उनले एमसिसी नेपालको संविधान र कानुनभन्दा माथि नभएको प्रष्ट्याए। ‘एमसिसी सम्झौता पल्टाएर हेर्नुस् एमसिसी र नेपालको कानुन बाझियो भने नेपालको संविधानमाथि हुन्छ भनेर स्पष्ट रुपमा लेखिएको छ’, प्रवक्ता कार्कीले भने।

कोरोना महामारीका कारण विश्वभरको अर्थतन्त्र कमजोर हुन पुगेको र नेपाल पनि अछुतो रहन नसकेको बताए। ‘कमजोर अर्थतन्त्रमा कोभिडको पनि धेरै ठूलो प्रभाव परेको छ, हाम्रो अर्थतन्त्र श्रीलंकाको जस्तो, पाकिस्तानको जस्तो अवस्थामा पुगेको छैन’, उनले भने, ‘अर्थतन्त्रलाई मजबुद बनाउन सरकारको ध्यान केन्द्रित छ, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ।’

व्यापार घाटा कम गर्नका लागि सबैभन्दा सबल आधार विद्युत निकासी नै भएको बताए। ‘त्यसका लागि हामीलाई ट्रान्समिसन लाईनको आवश्यकता छ, एमसिसीबाट प्राप्त ट्रान्समिसन लाईनलाई हामीले पाँच वर्षमा पूरा गर्न सक्यौं र ३० हजारभन्दा बढी मेगावाट विद्युत क्षमता छ, यसले व्यापार घाटालाई कम गरेर मुलुकको पूर्वाधार निर्माण र सामाजिक सुरक्षामा हामी खर्च गर्न सक्छौं’, मन्त्री कार्कीले भने।

सञ्चारकर्मीको जिज्ञासामा उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुरामा सरकारले कल्पना पनि गर्न नसक्ने बताए। ‘प्रभावकारी र व्यवस्थित बनाउने र विकृतीबाट जोगाएर समाजलाई सही सूचना प्रदान गर्नका निम्ति हामी सबैको कर्तब्य हो, एउटा पनि भ्रम नरहोस्, जुन अभिव्यक्ति स्वतन्त्रता संविधानले प्रदत्त गरेको छ, यसलाई कुण्डित गर्ने कुरामा सरकारले कल्पना पनि गर्न सक्दैन’, उनले भने। सरकारले युट्युबलाई नियमन गरेर प्रभावकारी र व्यवस्थित बनाउन मात्र खोजिएको बताएकाे नागरिक दैनिकमा समाचार छ ।

 

  • २९ फाल्गुन २०७८, आईतवार प्रकाशित
  • Nabintech