१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार
ए डिभिजन लिगमा एन्फाले विदेशी खेलाडी कोटा पाँच पुर्‍यायो
ए डिभिजन लिगमा एन्फाले विदेशी खेलाडी कोटा पाँच पुर्‍यायो
  • paschimpatra

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सहमत भएको छ ।

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका धेरैजसो खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लबहरूले खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो ।

ए डिभिजनका धेरैजसो क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए । खेलाडी थप गर्ने मागलगायत शहीद स्मारक ए डिभिजन लिग सञ्चालन सम्बन्धमा हिजो बुधवार बसेको बैठकले खेलाडीको कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिनुभयो । उहाँले अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न माग गरेअनुसार अब क्लबले पाँच जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने बताउनुभयो । उहाँले टिममा एक जना एसियाली र एक जना दक्षिण एसियाका खेलाडी अनिवार्य गरिएको पनि बताउनुभयो । उहाँले एक खेलमा चार जना विदेशी खेलाडी खेल्न पाउने प्रावधान ल्याएको बताउनुभयो ।

राष्ट्रिय टिमका धेरैजसो खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लबहरूले सामूहिकरूपमा विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजनका ११ वटा क्लबले आफ्नो मागसहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए । पछिल्लो समय राष्ट्रिय फुटबल टिमका धेरैजसो खेलाडी अस्ट्रेलिया पुगेका छन् । तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्यासमेत बढ्ने क्लबको चिन्ता छ । त्यही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने भन्दै क्लबहरूले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका थिए ।

शहीद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लबले चार जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै सुरुवाती–११ मा चार जना विदेशी खेलाडी राख्न पाइनेछ । एक जना विदेशी खेलाडी भने बेन्चमा रहनेछन् ।

नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिग डबल राउन्ड रोबिनको आधारमा हुनेछ । लिगका लागि पाँचौँ चरणसम्मको तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल खुमलटार युथ क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित
  • Nabintech