१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
कांग्रेसमा समान अवसर र न्यायको माग गर्दै शेखर-गगन समूहको धर्ना
कांग्रेसमा समान अवसर र न्यायको माग गर्दै शेखर-गगन समूहको धर्ना
  • paschimpatra

काठमाडौँ  ।  आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन् ।

‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले पार्टीभित्र न्याय मागेका हौं । अन्याय सहँदैनौं भनेर विरोध गरेका हौं‚’ धर्नामा सहभागी हुँदै गर्दा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने‚ ‘त्यसैले हामी प्लेकार्ड बोकेर नाराबाजी गर्दैनौं । धर्ना पूर्ण रूपमा मौन छ ।’

सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ ।

सोमबार बसेको गुटको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो ।

उनीहरुले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् । हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरु मात्रै परेका छन् ।

प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने भयले कोइराला समूह त्रसित छ । नेता कोइरालासहित पार्टीका पदाधिकारी रहेका कोइराला समूहका नेताहरू भने आन्दोलनका कार्यक्रममा सहभागी भएका छैनन् । दोस्रो तहका नेताहरूले भने निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् ।

  • १२ आश्विन २०७९, बुधबार प्रकाशित
  • Nabintech