७ बैशाख २०८२, आईतवार
७ बैशाख २०८२, आईतवार
भेरीमा वेथिति : कर्मचारी हाजिरी गर्छन्, कार्यकक्षमा बस्दैनन्
भेरीमा वेथिति : कर्मचारी हाजिरी गर्छन्, कार्यकक्षमा बस्दैनन्
  • paschimpatra

जाजरकोट । भेरी नगरपालिकामा कार्यरत कर्मचारीहरूको कार्यशैलीप्रति स्थानीयवासीहरू असन्तुष्ट देखिएका छन्। कार्यालय समयमै हाजिरी गर्ने कर्मचारीहरू कार्यकक्षमा अनुपस्थित रहने गुनासो बढ्दो छ। कतिपय कर्मचारी त विदा स्वीकृति नै नगरी बिना जानकारी कार्यालय नआउने गरेका छन्।

स्थानीय स्रोतका अनुसार, बिहान कार्यालय खुलेलगत्तै हाजिरी गर्ने कर्मचारीहरू केही समयपछि कार्यकक्ष छाडेर बाहिरिने गरेका छन्। सेवाग्राहीहरू आफ्ना काम लिएर कार्यालय पुग्दा सम्बन्धित कर्मचारी कार्यकक्षमै नहुँदा सेवा प्रवाहमा असर परिरहेको छ।

एक स्थानीयले भने, “हामी बिहानै काम लिएर आउँछौं, तर कर्मचारी कार्यकक्षमा भेटिँदैनन्। कतिपय त हाजिरी गरेपछि निजी काममा हिँड्ने गरेका छन्।” यस्तो गैरजिम्मेवार व्यवहारका कारण नगरपालिका प्रशासन अस्तव्यस्त बन्दै गएको स्थानीयको भनाइ छ।

कर्मचारीहरू कार्यकक्षमै नबस्ने प्रवृत्तिका कारण सेवाग्राहीहरू बारम्बार कार्यालय धाउन बाध्य छन्। सम्बन्धित शाखामा पुग्दा ढोका बन्द, कुर्सी खाली देखिनु सामान्य भएको सेवाग्राहीहरूको भनाइ छ। यो समस्या दिनप्रतिदिन गहिरिँदै गएको उनीहरूको गुनासो छ।

कागजमा मात्रै कार्यालयमा देखिने, व्यवहारिक रूपमा अनुपस्थित रहने कर्मचारीहरूको संख्या बढ्दो छ। एक कर्मचारीका अनुसार, केही सहकर्मीहरू हाजिरी गरेपछि कार्यालयमै नबस्ने पुरानै प्रवृत्ति दोहोरिरहेकाले सेवामा गम्भीर असर परेको छ।

त्यस्तै, केही कर्मचारी विदा स्वीकृत नगरी नै कार्यालय नआउने गरेको पाइएको छ। न त उनीहरूले पूर्वजानकारी दिन्छन्, न त अनुमति लिन्छन्। मंगलबार मात्र नगरपालिकाका ७९ कर्मचारीमध्ये ३२ जना अनुपस्थित रहेको तथ्यले समस्या कति जटिल छ भन्ने देखाउँछ।

यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती जिल्ला बाहिर भ्रमणमा रहेकाले आर्थिक सेवा प्रवाहमा समेत असर परेको छ। सेवाग्राहीहरू भुक्तानी, सिफारिस, योजना पासजस्ता काम लिएर कार्यालय जाँदा जिम्मेवार अधिकृत नभएकाले काम अघि बढ्न सकेको छैन। “तीन दिनदेखि नगरपालिका धाउँदैछु, कुनै जवाफ छैन,” एक सेवाग्राहीले गुनासो गरे।

तर, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश बटालाले भने सेवाग्राहीको कुनै पनि काम नरोकेको दाबी गरेका छन्। “प्रक्रिया पुर्‍याएर आएका सेवाग्राहीको काम रोकेको छैन,” उनले भने, “यस्ता गुनासो पनि आएको छैन।” उनले कर्मचारी हाजिरी गरेर कार्यकक्षमा नबस्ने र विदा स्वीकृत नगरी जाने प्रवृत्ति भएको स्वीकारे पनि नगरपालिका सेवा प्रवाहमा सधैं तयार रहेको दाबी गरे।

यस्तो अवस्थाबीच नगर प्रमुख र उपप्रमुख भने मौन छन्। नगर प्रमुख चन्द्रप्रकाश घर्तीलाई सम्पर्क गर्न खोज्दा फोन नउठेको सेवाग्राहीको गुनासो छ। स्थानीय अगुवा र नागरिकले यस्ता समस्या समाधानका लागि कडा निगरानी र नियमित अनुगमन आवश्यक रहेको सुझाव दिएका छन्। “नगरपालिकाको सेवा प्रणाली सुधार्न अब जनस्तरबाट दबाब दिनुपर्ने अवस्था आएको छ,” एक स्थानीय अगुवाले भने।

  • ४ बैशाख २०८२, बिहीबार प्रकाशित
  • Nabintech