
१० माघ बाँके । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ । चालू आर्थिक वर्षको ६ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् ।साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना कुष्ठरोगी पहिचान भएको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले जनाएको छ ।साइनिङ अस्पताल आइएनएफ बाँकेले विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा पत्रकारसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मङ्गलबहादुर थारुले बाँकेका नरैनापुरलगायतका दुर्गम स्थानमा कुष्ठ रोगका नयाँ बिरामी फेला परेको उल्लेख गर्दै सबैभन्दा बढी मधेसी समुदायमा सो रोग देखिएको जानकारी दिए ।
त्यस बाहेक थारु समुदायमा पनि कुष्ठ रोगका विरामी देखिएका छन् ।बाँकेमा ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच पाँच, अछामका तीन, दैलेखका दुई, दाङ, प्युठान, रोल्पा र सल्यानका एकएक जना र भारतीय १४ जना कुष्ठरोगी फेला परेको अस्पतालले जनाएको छ । गत बर्ष १७४ जना नयाँ कुष्ठरोगी भेटिएकोमा बाँकेका मात्र ९३ जना थिए ।