जाजरकोट । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले २०८२ सालभित्र ‘ओलीकरण’ को अन्त्य हुने दाबी गरेका छन्।
जाजरकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली राजनीतिमा व्यक्ति केन्द्रित, सत्तामुखी र अधिनायकवादी प्रवृत्तिको जरो काट्ने समय आइसकेको बताए।
पत्रकारको “अहिलेको सरकार कति टिक्छ?” भन्ने प्रश्नमा भुसालले विचौलियालाई प्राथमिकता दिने सरकारको प्रवृत्ति ‘ओलीकरण’ को प्रतिबिम्ब भएको उल्लेख गरे।
“ओलीकरणले विचार, सिद्धान्त र संगठनलाई तहसनहस पारेको छ। तर अब जनचेतना बढ्दो छ, जसले दीर्घकालीन रूपमा यस्ता प्रवृत्तिको अन्त्य गर्छ,” उनले भने, “८२ सालभित्रै यस्तो प्रवृत्तिको अन्त्य हुनेछ।”
भुसालले ‘ओलीकरण’ लाई व्यक्तिवादी, सत्तामुखी र अधिनायकवादी सोचको प्रतीक बताउँदै यसले मुलुकको लोकतान्त्रिक अभ्यास र वाम आन्दोलनलाई कमजोर बनाएको टिप्पणी गरे।
उनले प्रमुख दलहरूको गैरजिम्मेवार र अवसरवादी व्यवहारका कारण जनतामा निराशा बढेको उल्लेख गरे। “दलहरूको सिद्धान्तहीन कार्यशैलीले राजनीति प्रति जनविश्वास घटेको छ,” उनले भने।
नेकपा (एकीकृत समाजवादी) सुशासन र रोजगारीको एजेन्डामा केन्द्रित रहेको बताउँदै भुसालले वैकल्पिक शक्ति निर्माणको तयारीमा आफूहरू रहेको जनाए। “हामी रोजगारी सिर्जना गर्छौं, सुशासन ल्याउँछौं र युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्छौं,” उनले स्पष्ट पारे।
वामपन्थी शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै उनले विचार र नीतिमा आधारित एकता नै दीर्घकालीन समाधान हुने विश्वास व्यक्त गरे। भुसालले जनविश्वास पुनःस्थापित गर्न एकीकृत समाजवादी अग्रसर रहेको पनि बताए।