५ भदौ पाकिस्तान । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी वर्षाका कारण कम्तीमा १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण पिडिएमएले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानवीय तथा भौतिक क्षति पुर्याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडिएमए का अनुसार जुलाई १ देखि अगष्ट १७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् ।
पिडिएमएका अधिकारी युनस मेंगलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताउनुभएको छ । बलुचिस्तानले जुलाई १ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्यूजले जनाएको छ ।