१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
निर्वाचित भएर पदमा पुगेपछि बेइमानी गरेभने फेरी भोट माग्न आउदिन: खड्का (प्रतिबद्धता पत्र सहित)
निर्वाचित भएर पदमा पुगेपछि बेइमानी गरेभने फेरी भोट माग्न आउदिन: खड्का (प्रतिबद्धता पत्र सहित)
  • paschimpatra

जाजरकोट । जिल्लाको भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले आफु पदमा पुगेपछि बेइमानी गरे मतदाता संग फेरी भोट माग्न नआउने बताएका छन । विभिन्न चुनौतीहरुलाई चिर्दै यस पटक मेयर पदको उम्मेदवार बनेकोले यस पटक आफुलाई मतदान गर्न आव्हान गर्दै खड्काले आफ्नो प्रतिबद्धता अनुसार काम नगरी बेइमानी गरे पुन मत माग्न नआउने बताएका हुन ।

नेकपा ९एकीकृत समाजवादी० जाजरकोटका अध्यक्ष समेत रहेका खड्काले आज आफ्नो प्रतिबद्धताहरु सार्वजनिक गर्दै सो कुरा उल्लेख गरेका हुन । आफुले पुरा हुन नसक्ने ठुला सपना नभई जनताका दैनिक जनजिविका संग जोडिएका विषयहरु नै पुरा गर्ने प्रतिबद्धता गरेकोले आफ्नो कार्याकाल भित्र सबै पुरा गर्ने भन्दै खड्काले “एउटा राजनीतिक व्यक्तिलाई राजनीतिबाट विदा हुने जति ठुलो विषय अर्को हुँदैन तर मैले अहिले गर्न सक्छु भनेर प्रतिबद्धतामा उल्लेख गरेका विषय निर्वाचि भईसकेपछि गर्न सकिन वा जनताका चाहना प्रति कुनै बेइमानी गरेभने फेरी मलाई मत दिनुहोस भनेर जनता कहाँ आउदिन” । जाजरकोटको लोकप्रिय युवा नेताको छवि बनाएका खड्काले यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको भेरी नगर प्रमुखमा उम्मेवारी दिएका छन । सोही निर्वाचनका लागि खड्काले आज आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन ।

खड्काले सार्वजनिक गरेको चुनावी प्रतिबद्धतामा शिक्षा र स्वास्थ्यलाई बढि जोड दिईएको छ । त्यस्तै कृषि क्षेत्रको विकास, रोजगारी, सुशासन र भौतिक पूर्वाधारका कार्यक्रम पनि प्राथमिकतामा परेका छन । प्रतिबद्धताान नगरवासीको आपतकालिन सेवाको लागि नगर क्षेत्रभित्रको एम्बुलेन्स र शवबहान सेवा पूर्ण रुपमा निशुल्क गर्ने, जेष्ठ नागरीक तथा अशक्त अपांगता भएका व्यक्तिहरुको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने, स्याउली बजारमा नगर अस्पताल संचालनमा ल्याउने, वडा स्तरिय स्वास्थ्य चौकीहरुको भौतिक व्यवस्थापन संगै दक्ष जनशक्ति र आवश्यक उपकरणहरुको व्यवस्था गर्ने, जिल्ला अस्पतालको गुणस्तरिय स्वास्थ्य सेवाको लागि आवश्यक व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै शैक्षिक पाठ्यक्रम अनिवार्य पुरा गर्ने, नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको कच्ची छाना विस्थापन गरी पूर्ण पक्की भवन निर्माण गर्ने गर्नुका साथै छात्राहरुका लागि स्यानेटरी प्याड सहितका छुट्टाछुट्ट्रै शौचालय र शुद्ध खानेपानीको व्यवस्था गर्ने, विद्यालयहरु पूर्ण प्रविधि मैत्री बनाउने, शैक्षिक गुणस्तर अभिबृद्धिका लागि दक्ष जनशक्ति तयार गर्न नियमित तालिम तथा गोष्ठीहरु संचालन गर्ने विषय समेटिएका छन । काफलचौरमा संचालित बहुप्राविधिक शिक्षालयको प्रयाप्त भौतिक संरचनाको व्यवस्थापन संगै दक्ष जनशक्तिको व्यवस्था गरी व्यवसायिक तथा स्वरोजगारमूलक थप विषयको पठनपाठनको व्यवस्था गर्नुका साथै नगरभित्रका जेहेन्दार, विपन्न तथा असहाय विद्यार्थीलाई उच्च शिक्षा पढाउने उल्लेख गरिएको छ ।

त्यस्तै कृषकहरुको लागि प्रोत्साहन भत्ता, कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण, कृषि तथा पशुपालन पकेट क्षेत्र विशेष कार्यक्रमहरु समेटिएका छन । कुदु, भुरचौर लगाएतको सुख्खा क्षेत्रमा लिफ्ट सिंचाई तथा सिंचाईको श्रोत नभएको स्थानमा आकाशे पानी संकलन गर्ने टंकी निर्माण गरी आवश्यक सिंचाईको व्यवस्था मिलाईने, नगरका प्रत्येक बस्तीमा एकघर एक धारा को नीति पूर्ण रुपमा कार्यान्वयन गरिने, सदरमुकाम खलंगामा संचालित बृहत खानेपानी आयोजनाको बाँकी काम पहिलो वर्षमै पुरा गरी बजार क्षेत्रको खानेपानीको दिर्घकालिन व्यवस्थापन गर्ने, बजार क्षेत्रको ढलको उचित व्यवस्थापन गरी उक्त ढलबाट बगेको पानीले तल्लो क्षेत्रमा सिंचाईको व्यवस्था गर्ने विषय समेटिएको छ ।

नगर क्षेत्र भित्रका सडकहरुलाई बाह्रै महिना चल्नले गरी स्तरउन्नती गर्ने कार्यलाई पहिलो प्राथमिकता दिई सडक संजाल नजोडिएका बस्तीहरुमा सडक निमार्ण गर्ने, मध्यपहाडी लो्कमार्गको भुरपोखरा–मछाइन–भेरेखर्क–पोखरा–डिंगा–बडालेख–मैदे हुदै जाजरकोट डोल्पा सडक सम्म पर्यापर्यटन मार्ग निर्माणमा लागि सम्भाव्यता अध्ययन गरी कार्यन्वयन गरिने, फेरा बजार देखि बुरुङ्गे खोलाको किनार किनार वडा नं। ६ को सिमाना सम्म हरित सडक निर्माण गरी पर्यटकीय क्षेत्र बनाउनुका साथै उक्त क्षेत्रको जमिन संरक्षित गरी उत्पादन संग जोडिने उल्लेख गरिएको छ । जिल्लाको प्रशिद्ध धार्मिक स्थल मालिका मन्दिर, शिवालय मन्दिर, कुदुको भुमेश्वर गुफा, साङ्टा गुफा लगाएतका पर्यटकीय स्थलहरुको समग्र विकासका लागि आवश्यक पहल गर्नुका साथै सदरमुकाममा रहेको ऐतिहासिक जाजरकोट दरबारलाई संग्रालयको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।

जिल्ला सदरमुकाममा व्यवस्थित बसपार्क, १ हजार क्षमताको अत्याधुनिक सभाहल निर्माण गर्नुका साथै जिल्लामा सार्वजनिक कार्यक्रम संचालन गर्नका लागि ठाउँको समस्या पर्ने गरेको कुरालाई ध्यान दिदै ठाँटी बजारमा व्यवस्थित खुला मञ्च निर्माण गर्ने कुरा समेटिएका छन । पहिलो वर्षमा नै सबै वडा कार्यालयहरुका प्रशासनिक भवनहरु निर्माण गरी एकीकृत सेवा प्रवाह गर्ने, जेष्ठ नागरीक एकल महिला अशक्त अपांगता भएका व्यक्ति तथा वालवालिकाहरुलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता व्यवस्थित गरी सरल भुक्तानीको व्यवस्था मिलाइने, नगरको आन्तरिक आम्दानी बृद्धि गर्न करका दर नभई दायरा बृद्धि गर्ने तथा अस्वभाविक करका दरहरुलाई पुनरावलोकन तथा समायोज गर्ने, नगरवासीको यातायात सहजताका लागि पहिलो वर्ष मै ३ वटा नगरबस संचालन गर्ने तथा बजार क्षेत्रमा आवत जावत सहजताा लागि ई–रिक्सा संचालनका लागि आवश्यक प्रक्रिया मिलाईने उल्लेख गरिएको छ । कुदु र काफलचौरमा निर्माण कार्य सुरु गरिएका खेलकुद रंगशाला अविलम्ब निर्माण गर्ने तथा बजार क्षेत्रमा खुला व्यायमशाला निर्माण गर्ने, युवायुवतीहरु कुलतमा फस्दै गएको कुरालाई मध्यनजर गर्दै उनिहरुको लागि आवश्यक रोजगारी तथा सकारात्मक सोचको विकास गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने विषय प्रतिबद्धतामा समेटिएका छन । पूर्ण सुशासनयुक्त नगर बनाउनका लागि आवश्यक नीति निर्माण गर्नुका साथै प्रत्येक चौमासिकमा समग्र आयव्यय सार्वजनिक गर्ने उल्लेख छ ।

स्थानीय निकायको २०५४ सालको निर्वाचनमा साविक खलंगा गाविसको उपाध्यक्षमा २२ वर्षकै उमेरमा निर्वाचित भएर सफल कार्यकाल पुरा गरेका खड्का हाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य छन । राजनीति संगै विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्वमा रहदाँ अत्यन्त लोकप्रिय काम गरेका खड्का भेरी नगर प्रमुखका उम्मेदवार मध्यका सबै भन्दा बलिया उम्मेदवार हुन । चुनावी माहोल खड्काको पक्षमा बन्दै गएपछि उनका विरुद्धमा कांग्रेस र माओवादी केन्द्रले आपसी चुनावी गठबन्धन गरेका छन । लामो समय सामाजिक सेवामा सक्रिय रहेका खड्का पार्टी भन्दा माथि उठेर जनसेवा गर्ने व्यक्ति भएकोले गठबन्धनले उनको विजयी यात्रा रोक्न सक्ने देखिन्न ।

यस्ता छन प्रतिबद्धताहरु :

 

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित
  • Nabintech