जाजरकोट । बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोग फैलिँदा दुई सयभन्दा बढी भेडाको ज्यान गएको छ। लगातार भेडा मर्न थालेपछि स्थानीय किसान चिन्तित र निराश बनेका छन्।
स्थानीयका अनुसार भेडालाई पखाला लाग्ने, छटपटाउने र अकस्मात मर्ने लक्षण देखिएको छ। रोगको पहिचान नभएपछि उपचार सम्भव हुन नसकेको र रोगको दर अझै नघटेको वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए। “हामी जनप्रतिनिधि र स्थानीय पशु स्वास्थ्यकर्मी उपचारमा खटिएका छौं,” उनले भने, “तर मर्ने दर रोकिएको छैन, अधिकांश किसानका भेडा मरेका छन्।”
स्थानीय पशु स्वास्थ्यकर्मीहरू उपचारमा खटिए पनि जनशक्ति र औषधीको अभावका कारण उपचारमा समस्या भएको गुनासो छ। “यहाँ पर्याप्त औषधी छैन,” एक स्वास्थ्यकर्मीले भने, “हामी मात्रैले केही गर्न सक्दैनौं, जिल्ला कार्यालयले खासै चासो दिएको छैन।”
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिल उपाध्यायका अनुसार भेडाको स्वाव, रगत र संक्रमित अंगको नमुना परीक्षणका लागि सुर्खेत पठाइएको छ। “सुर्खेतमा परीक्षण सम्भव नभएपछि काठमाडौं पठाइएको जानकारी आएको छ,” उनले भने, “जबसम्म रिपोर्ट आउँदैन, उपचार सम्भव छैन।”
जिल्लामा पशु रोग परीक्षण प्रयोगशाला तथा विशेषज्ञ टोलीको अभावले समयमै रोग पत्ता लगाउन र नियन्त्रण गर्न नसकिएको भन्दै किसानहरूले असन्तुष्टि जनाएका छन्। केही दिनअघि मात्र डाक्टरसहितको टोलीले नमुना संकलन गरे पनि त्यसयता थप जनशक्ति खटिएको छैन।
भेडा कृषिमा निर्भर किसानका लागि आम्दानीको मुख्य स्रोत हो। सयौँको संख्यामा भेडा मरेपछि उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ। “केही गर्न नसकेर हेर्नुपरेको अवस्था छ,” एक किसानले भने, “सरकारले चाँडै कदम चाल्नुपर्छ।”