२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार
बारेकोट गाउँपालिकाले एमबीबीस र इन्जिनियरिङ पढाउन अनुदान दिने
बारेकोट गाउँपालिकाले एमबीबीस र इन्जिनियरिङ पढाउन अनुदान दिने
  • paschimpatra

जाजरकोट । बारेकोट गाउँपालिकाले हरेक वर्ष गाउँपालिकाभित्रका एक जना एमबीबीएस र एक जना इन्जिनियरिङ पढ्नका लागि साझेदारीमा आवश्यक शैक्षिक अनुदान दिने भएको छ ।

दुर्गम बारेकोटमा स्थानीय डाक्टर नहुँदा स्वास्थ्य संस्थामा डाक्टर नबस्ने समस्या छ । गाउँपालिकाभित्रका जेहेन्दार युवाहरूलाई एमबीबीएस पढ्न आर्थिक सहयोग गरेर प्रोत्साहन गरी जनशक्ति वृद्धि गर्न साझेदारीमा हरेक वर्ष एमबीबीएस पढ्ने विद्यार्थीलाई अनुदान दिने बताइएको छ । त्यस्तै इन्जिनियरिङ अर्थात् बीई पढ्न चाहने विद्यार्थीलाई पनि साझेदारीमा आवश्यक छात्रवृत्तिको व्यवस्था गरिने भएको नवनिर्वाचित अध्यक्ष वीरबहादुर गिरीले बताए ।

त्यस्तै ४० वर्षमाथिका अविवाहित पुरुषलाई एकल पुरुषसरह भत्ताको व्यवस्था, विदुर पुरुषलाई भत्ता, पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने, गाउँपालिकामा आगामी वर्ष स्नातक तहसम्मको क्याम्पस र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने, एक वडा एक उत्पादन, सिल्पाचौरमा होमस्टे स्थापना र सञ्चालन, आईटीपार्क स्थापना, बारेकोटमा नुन डिपोको स्थापना, रोजगार बैंकको स्थापना र सुपथ सहकारी पसल स्थापना गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी, स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, चारवटा आधारभूत तहका विद्यालयलाई आईटीसहितको नमूना विद्यालय बनाउने, रंगशाला निर्माण गर्ने, एक घर एक धारा निर्माण गर्ने, वडामै अपाङ्ग परिचयपत्रको व्यवस्था मिलाउने, सडकको स्तरोन्नति गरी सडक नपुगेका वडा र गाउँमा सडक पुर्‍याउनेलगायत थुप्रै लोकप्रिय कार्यक्रम अघि सारिएको छ । बारेकोटको १५औं गााउँसभामा अध्यक्ष गिरीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

बारेकोटले आगामी वर्षको बजेट साढे ४६ करोड रुपैयाँको विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष नरबहादुर गिरीले गाउँ सभामा ४६ करोड ४१ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेट, नीति तथा कार्यक्रम गाउँ सभाले पारितसमेत गरिसकेको छ ।

  • १४ असार २०७९, मंगलवार प्रकाशित
  • Nabintech