
जाजरकोट । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा जाजरकोट कांग्रेसले जोड दिएको छ ।
कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले महाधिवेशन कुनै पनि बहानामा रोक्नु नहुने स्पष्ट पारेका छन् । बिहीबार सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा सभापति सिंहले केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिका अनुसार पुस २६ देखि २८ गतेसम्म जिल्ला, प्रदेश हुँदै केन्द्रको महाधिवेशन सम्पन्न हुनुपर्ने बताए । नयाँ नेतृत्व चयन गरेर कांग्रेस निर्वाचनमा जानुपर्ने उनको भनाइ छ ।
उनका अनुसार मंसिर १५ गते केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार जाजरकोटमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम बस्तीबस्ती पुगेर सम्पन्न गरिएको छ। जाजरकोटमा सदस्यता प्रक्रिया विवादरहित रूपमा सम्पन्न भएको सिंहले दाबी गरे।
सभापति सिंहले जाजरकोटमा पार्टीप्रतिको विश्वास कायमै रहेको उल्लेख गर्दै फरक राजनीतिक अभ्यासका कारण कांग्रेसप्रति आकर्षण बढेको बताए । उनका अनुसार नयाँ थपिएका सदस्यहरूमध्ये २५–३० प्रतिशत ‘जेनजी’ उमेर समूहका छन् भने करिब ४०–४५ प्रतिशत ४० वर्ष मुनिका युवा सक्रिय सदस्य रहेका छन्।
‘बदलिएको राजनीतिक सन्दर्भ, जनचाहना र नयाँ जनादेशको आवश्यकताले महाधिवेशन रोक्ने कुनै आधार छैन,’ सिंहले भने, ‘कांग्रेस अब नयाँ ऊर्जा र नयाँ नेतृत्वसहित जनतामा जानुपर्छ।’
भूकम्पले प्रभावित जाजरकोटमा दुई वर्ष बितिसक्दा पनि पुनर्निर्माणमा राज्यको पर्याप्त चासो नदेखिएको भन्दै उनले यस विषयलाई आगामी निर्वाचनको प्रमुख एजेन्डा बनाइने बताए ।
चौधौँ महाधिवेशनमा जाजरकोटमा ५ हजार २५४ क्रियाशील सदस्य रहेका थिए । हाल ४ हजार १ जनाले सदस्यता नवीकरण गरेका छन्। नवीकरण नभएकामध्ये केहीको निधन भइसकेको, शिक्षक/कर्मचारीकाे नविकरण नभएको तथा केही विदेशमा रहेका कारण संख्या घटेको सिंहले जानकारी दिए।
नयाँ सदस्यता वितरणपछि हालसम्म २ हजार २० नयाँ क्रियाशील सदस्य थपिएका छन्, जुन नवीकरण गरिएको संख्याको करिब ५१ प्रतिशत हो।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिससमेत गरिसकेको जनाएको छ। ‘राष्ट्रिय तथा प्रतिनिधिसभा निर्वाचनको तयारीमा एक घण्टा पनि अलमल गर्ने छुट छैन,’ सभापति सिंहले बताए।
त्यसैगरी पार्टी प्रबक्ता छवि पन्तले जेनजी आन्दोलन पश्चात पार्टिमा ब्यापक रुपान्तरण आबश्यक रहेको त्यसका लागि कांग्रेस सबैभन्दा पहिला सुधार थाल्नुपर्ने बताएका छन् ।