१५ साउन काठमाडौँ । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद यतिबेला खाली छ । साउन ९ गते बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै पद खाली रहेको हो ।
अध्यक्ष पदलाई लिएर अहिले विभिन्न चलचित्रकर्मीले राजनीतिक भेटघाट बढाएका छन् । विशेष गरेर सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस निकटका चलचित्रकर्मीहरू बोर्डको अध्यक्ष बन्ने दौडधुपमा छन् ।कांग्रेस–एमालेको गठबन्धन सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एमालेका पृथ्वी सुब्बा गुरुङ छन् । चलचित्र विकास बोर्ड सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको संस्था हो । त्यसैले एमालेभित्रकै चलचित्रकर्मी बढी दौडधुपमा छन् ।
अध्यक्षको दौडमा अहिले विशेष गरेर ५ जना अगाडि देखिएका छन् । सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डीसी, अभिनेत्री करिश्मा मानन्धर, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, फिल्म निर्देशक नरेश पौडेल र सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा बोर्डको अध्यक्ष बन्ने दौडमा अगाडि देखिएका छन् । यी सबै आ–आफ्नो नजिकका नेता तथा शक्ति केन्द्रमा धाइरहेका छन् । अध्यक्षका लागि आवदेन दिने समय अझै बाँकी रहेकाले आकाङ्क्षी बढ्न सक्ने अनुमान गरिएको छ ।