
२ कात्तिक काठमान्डौ । राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति खारेज गर्न माग गर्दै कात्तिक ९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ ।
राजधानीस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अभियानले नियुक्ति प्रक्रिया र त्यसको औचित्यमाथि प्रश्न उठाएको हो । अभियानले डोल्माको नियुक्ति तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।अभियानका संयोजक सुनिल सिंहले नियुक्तिले देशभक्त नेपाली नागरिकको अपमान भएको दाबी गरे । प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसङ्घको महासभामा बुद्धको उपदेश दिएर सकारात्मक सन्देश दिएको भए पनि लुम्बिनी विकास कोषको उपाध्यक्षमा डोल्मालाई नियुक्त गर्नु विरोधाभासपूर्ण भएको उनको भनाइ थियो ।
दसैँको मुखमा जनतालाई छलेर नियुक्ति गरिएको आरोप लगाउँदै सिंहले निर्णय खारेज नभए कात्तिक ९ गतेदेखि संघर्षका कार्यक्रम अघि बढाउने बताए ।सिंहले डोल्माको नागरिकता र पृष्ठभूमिमाथि पनि प्रश्न उठाए । सन्दुक रुइतको दबाबमा नियुक्ति गरिएको भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबाटै आएको दाबी गर्दै उनले नियुक्तिको निर्णय प्रक्रियाबारे सरकारसँग जवाफ मागे ।अभियानका प्रवक्ता विर्जन विकले नियुक्ति विदेशी योजनाअनुसार भएको आरोप लगाए । उनले डोल्मालाई नियुक्त गर्नु लुम्बिनीलाई चीनविरुद्धका गतिविधिको केन्द्र बनाउने योजनासँग जोडिएको दाबी गरे । नेपालबाट दलाई लामाको उत्तराधिकारी घोषणा गर्ने योजनामा डोल्माको भूमिका रहेको आरोपसमेत उनले लगाए ।