१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
भेरी र बारेकोट पूर्णखोप सुनिश्चितता पालिका घोषणा
भेरी र बारेकोट पूर्णखोप सुनिश्चितता पालिका घोषणा
  • paschimpatra

जाजरकाेट । भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई शनिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

औपचारिक कार्यक्रमको आयोजना गरेर भेरी र बारेकोटले पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेका छन् ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्न राष्ट्रिय खोप तालिका अनुसार ९० प्रतिशत भन्दा बढि बालबालिकाले १२ प्रकारका खोप पाईसकेको हुनुपर्ने मापदण्ड रहेको छ । १२ प्रकारका खोप पाईसकेका बालबालिकाहरुको उमेर समुह १६ देखि २३ महिनासम्मका बालबालिकाहरुको उमेर समुहलाई गणनामा लिने गरिएको छ ।

हरेक बर्ष पूर्णखोप सुनिश्चित पालिका घोषणा कार्यक्रमलाई निरन्तरता दिने गरिएको छ । पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्नलाई सबै प्रकारका खोपहरु सबै बालबालिकाहरुले पाए नपाएको जानकारी लिनलाई स्वास्थ्य महिला स्वयंसेविकाहरुले गाउँ–टोलमा रहेका घरधुरीहरुको सर्वेक्षण गर्ने, वडाअध्यक्षको संयोजकत्वमा रहेको वडा स्तरीय खोप समन्वय समितिको बैठकले गरेको सिफारिमा गाउँ तथा नगर खोप समन्वय समितिले खटाएका स्वास्थ्यकर्मीले २५ प्रतिशत घरधुरीमा दादुरा रुवेलाको खोप पाए नपाएको सर्वेक्षण गर्नुपर्ने, गाउँ तथा नगर खोप समन्वय समितिले गरेको सिफारिसमा स्वास्थ्य सेवा कार्यालयले पनि खोप सुनिश्तिता भए÷नभएको सर्वेक्षण गर्ने, स्वास्थ्य सेवा कार्यालयले गरेको सिफारिसका आधारमा जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकको निर्णयले दिएको अनुमतिका आधारमा गाउँ तथा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्न पाउने नीतिगत व्यवस्था गरिएको छ ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको भेरी नगरपालिकाका १३ वटै वडाका १६ देखि २३ महिनासम्मका ९९ प्रतिशत बालबालिकाहरुले १२ प्रकारका खोप पाईसकेको नगर स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव यज्ञ गौतमले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार भेरी नगरपालिकाका घरधुरी सर्वेक्षण गर्ने क्रममा सवै प्रकारका खोप पाउनबाट छुटेका बालबालिकाहरुको संख्या ४ जना रहेको थियो । उक्त ४ जना बालबालिकालाई पनि सर्वेक्षणकै क्रममा छुटेको खोप पुरा गरिएको थियो ।

त्यसैगरी बारेकोट गाउँपालिकामा १२ देखि २४ महिनासम्मका ४८१ जना बालबालिका रहेको गाउँ आधारभुत स्वास्थ्य तथा सरसफाई शाखामा कार्यरत सिनियर अनमी कल्पना रोकाय घर्तीले जानकारी दिएकी छन् । उनले दिएको जानकारी अनुसार यसबर्ष बारेकोट गाउँपालिकामा १२ प्रकारका खोप पाउएका बालबालिकाहरु ९६ प्रतिशत भन्दा बढि रहेका छन् । गत बर्ष बारेकोट गाउँपालिकाले सवै प्रकारका खोप पाउने बालबालिकाहरुको संख्या १०० प्रतिशत भन्दा माथिको लक्ष्य हासिल गरेको थियो ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्नलाई जिल्ला स्तरीय खोप समन्वय समितिले अनुमति दिएता पनि आर्थिक बर्षको अन्तिम दिनमा आएर घोषणा गर्ने कार्यलाई बार्षिक प्रगति देखाउनलाई गरिएको हतारोको रुपमा बिश्लेषण गरिएको छ । बालबालिकाहरुको शुष्मा पोषण तत्वसंग जोडिएको खोप जस्तो सम्बेदनशिल बिषयमा हतार नगरी आगामी आर्थिक बर्षको सुरुको महिनामा सबै विधी र प्रक्रिया पुरा गरेर घोषण गर्दा पनि फरक नपर्ने भन्ने भनाईहरु सार्वजनिक भएका छन् । पूर्णखोप सुनिश्चितता पालिका घोषणा कार्यक्रम आफैमा सचेतनामुलक कार्यक्रम भएको तर्क गर्दै घोषणा कार्यक्रममा कम्तिमा पालिकाका सवै वडाबाट बाजाबाजा, झाँकी सहितको कार्यक्रम गर्न सकेको भए खोप सम्बन्धिको सचेतना फेलिनेमा मद्दत पुग्ने धारणाहरु बाहिरिएका छन् ।

  • १ श्रावण २०७९, आईतवार प्रकाशित
  • Nabintech