२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
बौलाह खोलामा आएको बाढीले नलगाडमा क्षति
बौलाह खोलामा आएको बाढीले नलगाडमा क्षति
  • paschimpatra

जाजरकोट ।  भाद्र २८ गते राति परेको अविरल वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–१ र २ को सीमाक्षेत्रमा पर्ने बौलाह खोलामा आएको बाढीले क्षति पुर्‍याएको छ।

बाढीले नलगाड–१ बैरीताल क्षेत्रमा रहेका अस्थायी घरटहरा, किराना पसल, फ्रेस हाउस, अटो, ट्र्याक्टर, पानीघट्टलगायत बगाउनुका साथै भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयअन्तर्गत इलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ।

प्रहरीका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। घटनाको जानकारी भाद्र २९ गते बिहान ६ः४५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

बाढीबाट नलगाड–१ बैरीतालका मानबहादुर विकको तीन कोठे अस्थायी टहरा पूर्णरूपमा बगेको छ। बविता महराको अस्थायी टहरा तथा किराना पसल, कृष्ण महराको एक कोठे टहरा, मेघराज कुमाईको बोइलर कुखुराको दाना राख्ने टहरा, नन्दे महरको कपडा पेल्ने मेसिनसहितको टहरा र बलबहादुर विकको किराना पसल रहेको टहरा पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ।

त्यस्तै, जनक भण्डारीको अस्थायी टहरामा सञ्चालित फ्रेस हाउस तथा त्यहाँ रहेका करिब १०० वटा बोइलर कुखुरा बाढीले बगाएको छ। दले कामीको किराना पसलमा हिलो र पानी पस्दा आंशिक क्षति पुगेको छ।

बाढीले छवि महरको भे १ ह २६३३ नम्बरको अटो हिलोपानीमा पुरिनुका साथै हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्र्याक्टर माटोले पुरिएर आंशिक क्षति भएको छ। नलगाड–२ का सत्यदेव चनाराको पानीघट्टसमेत बाढीले पूर्णरूपमा बगाएको छ।

बाढीका कारण सडक अवरुद्ध भएपछि भेरी करिडोर हुँदै जाजरकोट–डोल्पा आवतजावतसमेत प्रभावित भएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय दल्लीबाट करिब एक किलोमिटर पश्चिममा पर्छ।

यसैबीच, अविरल वर्षाका कारण जिल्लाका अन्य विभिन्न स्थानमा समेत बाढीपहिरोको जोखिम बढेको छ। विभिन्न ठाउँमा पशुचौपाया तथा बालीनालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

  • २९ भाद्र २०८३, सोमबार प्रकाशित
  • Nabintech