२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
पहिरोले पाइप बगाएपछि खलंगामा खानेपानीको समस्या, सराेकारवालाकाे उदासीनता ।।
पहिरोले पाइप बगाएपछि खलंगामा खानेपानीको समस्या, सराेकारवालाकाे उदासीनता ।।
  • पवन शर्मा

जाजरकोट । भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोले खानेपानीको पाइप बगाएपछि जाजरकोट सदरमुकाम खलंगामा खानेपानीको समस्या चर्किएको छ।

पहिरो गएको दुई दिन बितिसक्दा पनि पाइप मर्मत तथा वैकल्पिक व्यवस्था हुन नसक्दा खलंगाका स्थानीय नागरिक खानेपानीका लागि घण्टौँसम्म लाइन बस्न बाध्य भएका छन्।

खलंगामा नियमित रूपमा आपूर्ति हुँदै आएको खानेपानी अवरुद्ध भएपछि अहिले भेरी नगरपालिका–४ मा रहेको भेलाले मुहान स्थानीयका लागि पानीको मुख्य स्रोत बनेको छ। बिहानैदेखि पानी भर्नका लागि तल्लो थाप्ले, थाप्ले, ठाँटीबजार, शान्तिचौतारा, गैरीखालीलगायतका क्षेत्रबाट सर्वसाधारण भेलाले मुहान पुग्ने गरेका छन्।

खानेपानीको अभावका कारण स्थानीयवासीसँगै विभिन्न विद्यालयका बालबालिकासमेत पानी ओसार्न बाध्य भएका छन्। विद्यालय जाने समयमा समेत बालबालिकाहरू पानी भर्न तथा घरमा पानी पुर्‍याउन व्यस्त देखिने गरेका छन्। यसले दैनिक जनजीवनसँगै पठनपाठनमा समेत असर पर्न थालेको स्थानीयको भनाइ छ।

खलंगा सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष किरण भण्डारीका अनुसार पहिरोले पाइप बगाएपछि नयाँ पाइपको अभावमा तत्कालै पानीको लाइन जोड्न समस्या भएको छ। पाइप उपलब्ध गराएर पहिरो प्रभावित क्षेत्रमा तत्काल मर्मत गर्न नसकिएसम्म खानेपानी आपूर्ति सहज हुने अवस्था नरहेको उहाँको भनाइ छ।

“पहिरोले खानेपानीको पाइप नै बगाएपछि मुख्य लाइन अवरुद्ध भएको छ। पाइप नहुँदा तत्काल जडान गर्न समस्या भएको छ,” अध्यक्ष भण्डारीले बताउनुभयो।

खानेपानीको समस्या तीन–चार दिनदेखि देखिए पनि सम्बन्धित निकायले तत्काल चासो नदिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। विपद्का कारण खानेपानीजस्तो अत्यावश्यक सेवा अवरुद्ध हुँदा स्थानीय सरकार तथा सरोकारवाला निकायले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने भए पनि आफूहरूलाई बेवास्ता गरिएको स्थानीयको आरोप छ।

स्थानीयका अनुसार सदरमुकाम क्षेत्रमा ठूलो संख्यामा मानिस बसोबास गर्ने भएकाले एउटा मुहानको भरमा सबैको खानेपानीको आवश्यकता धान्न कठिन भएको छ। बिहानदेखि साँझसम्म पानी भर्नका लागि भीड लाग्ने गरेको छ भने मुहानमा पानी भर्नेहरूको चाप बढ्दा कतिपयले लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ।
खानेपानीको नियमित आपूर्ति नहुँदा होटल तथा व्यवसाय सञ्चालन गर्नेहरू, कार्यालय, विद्यालय तथा सर्वसाधारण बढी प्रभावित भएका छन्। घरायसी प्रयोजनका लागि आवश्यक पानी जुटाउनसमेत समस्या भएपछि स्थानीयले सम्बन्धित निकायसँग तत्काल पाइपको व्यवस्था गरी खानेपानी सञ्चालन गर्न माग गरेका छन्।

स्थानीयवासीले खानेपानीजस्तो आधारभूत सेवामा आएको समस्या समाधानका लागि नगरपालिका, खानेपानी उपभोक्ता समिति तथा अन्य सम्बन्धित निकायबीच तत्काल समन्वय आवश्यक रहेको बताएका छन्।

तीन–चार दिनदेखि खानेपानीको समस्या हुँदा पनि सरोकारवाला निकाय मौन बसेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। तत्काल समस्या समाधान नभए खलंगामा खानेपानीको संकट अझ गम्भीर बन्न सक्ने उनीहरूको चेतावनी छ।

खानेपानीको अभावले नागरिकको दैनिक जीवन प्रभावित भइरहेका बेला सम्बन्धित निकायले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन, आवश्यक पाइपको तत्काल व्यवस्थापन र खानेपानी आपूर्ति पुनः सञ्चालन गर्नुपर्ने देखिएको छ।

  • २ भाद्र २०८३, मंगलवार प्रकाशित
  • Nabintech