
२३ साउन सल्यान । सल्यानमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिकार खेल्ने क्रममा भरुबा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका २ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो ।
कालीमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालीमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर पक्राउ परेका छन् ।पुनमगर साथीहरूसँग सिकार खेल्न जंगल गएका थिए। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली पुनमगरको पेटको तल्लो भाग र कम्मरमा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।