
१५ साउन काठमाडौं । भारतीय क्रिकेटका अनुभवी खेलाडी अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।उनले इन्स्टाग्राममा एक भिडियोमार्फत सन्यासको घोषणा गरेका हुन् ।भिडियोसँगैको क्याप्सनमा रहाणेले लेखेका छन्, क्याप २७८ बिदा लिँदै । वर्षौँदेखिको माया र साथका लागि धन्यवाद । सधैँ आभारी रहनेछु । इन्डिया’
रहाणे लामो समयदेखि भारतीय टोली बाहिर थिए ।
उनले सन् २०२३ मा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनी अन्तिम पटक जुलाई २०२३ मा वेस्ट इन्डिजविरुद्धको टेस्ट खेलमा देखिएका थिए ।उनले आफ्नो अन्तिम एकदिवसीय खेल ओडीआई सन् २०१८ मा र अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल सन् २०१६ मा खेलेका थिए ।रहाणेले आफ्नो खेल जीवनमा ८५ टेस्ट, ९० एकदिवसीय र २० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । १४४ टेस्ट इनिङ्समा उनले ३८.४६ को औसत र ४९.५० को स्ट्राइक रेटका साथ ५,०७७ रन बनाए । यसमा उनले १२ शतक र २६ अर्धशतक बनाएका छन् । उनको सर्वाधिक स्कोर १८८ रन हो ।रहाणेले भारतीय टोलीको ६ टेस्ट खेलमा कप्तानी पनि गरेका थिए । उनको नेतृत्वमा भारतले ४ टेस्ट खेल जितेको थियो भने २ खेल बराबरीमा टुंगिएका थिए ।