
जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटले सगरमाथा वृक्षरोपण महाअभियान–२०८३ अन्तर्गत जिल्लाभर वृक्षारोपण अभियानलाई तीव्र बनाएको छ। असार १४ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत विभिन्न स्थानमा निरन्तर वृक्षारोपणका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
डिभिजन वन कार्यालयले आफ्नो बहुवर्षीय नर्सरीमा रिठ्ठा, अमला, लप्सी, धुपी, टिमुर, तेजपात, काउलो लगायतका करिब ५० हजार बिरुवा उत्पादन गरिरहेको जनाएको छ। उत्पादन भएका ती बिरुवालाई जिल्लाका सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा करिब १५ हेक्टर खाली क्षेत्रमा रोपण गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाभर करिब ३३ हेक्टर खाली क्षेत्रमा सामुदायिक वन, कबुलियती वन उपभोक्ता समूह र निजी वनसँगको साझेदारीमा टिमुर, तेजपात, बोधिचित्त, ओखर, अमला, चिउरी, सतुवा लगायतका करिब ३७ हजार जडिबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपण भइरहेका छन् ।

यसैक्रममा भेरी नगरपालिका–१० स्थित रानीचौर सामुदायिक वनमा अमला, रिठ्ठा, सिसौँ र खयर गरी २ हजार बिरुवा रोपण कार्य सम्पन्न भएको छ। त्यस्तै भेरी नगरपालिका–१० कै असोजे सामुदायिक वनको नदी उकास क्षेत्रमा ८ सय खयर र सिसौँ प्रजातिका बिरुवा रोपण गर्ने तयारी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन क्षेत्र विस्तार, वातावरण संरक्षण तथा आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको वृक्षरोपण अभियानले जिल्लाको हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।