२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
जाजरकोटको शिवालयमा विपद् जोखिम विश्लेषणसम्बन्धी चारदिने eVCA तालिम सम्पन्न
जाजरकोटको शिवालयमा विपद् जोखिम विश्लेषणसम्बन्धी चारदिने eVCA तालिम सम्पन्न
  • paschimpatra

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा परिष्कृत संकटासन्नता तथा जोखिम विश्लेषण (Enhanced Vulnerability and Capacity Assessment–eVCA) सम्बन्धी चारदिने तालिम सम्पन्न भएको छ।

शिवालय गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा सञ्चालित “दिगो विकासका लागि स्वास्थ्य, अनुकूलन तथा उत्थानशीलता (SUDHAR)” परियोजनाअन्तर्गत गाउँपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न आवश्यक तथ्याङ्क संकलनका लागि स्थानीय जनशक्ति विकास गर्ने उद्देश्यले असार १७ देखि २० गतेसम्म तालिम सञ्चालन गरिएको हो।

तालिममा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन, eVCA का विभिन्न उपकरणहरूको प्रयोग, जोखिम नक्साङ्कन, ऐतिहासिक समयरेखा, समस्या वृक्ष, मौसमी पात्रो, प्राकृतिक स्रोत विश्लेषण तथा उत्थानशीलताका ११ आयामलगायत विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमलाई थप प्रभावकारी बनाउन दुई दिन फिल्ड अभ्याससमेत गरिएको थियो। अभ्यासका क्रममा शिवालय गाउँपालिकाको वडा नं. २ र ३ मा समुदायस्तरमा तथ्याङ्क संकलन गरिएको आयोजकले जनाएको छ।

तालिममा परियोजनाअन्तर्गत कार्यरत सामुदायिक परिचालक तथा गाउँपालिकाका सबै वडाबाट छनोट भएका विपद् स्वयंसेवक ब्युरोका प्रतिनिधिसहित २३ जनाको सहभागिता रहेको थियो। तालिमपछि सहभागीहरूले आफ्ना वडामा eVCA का उपकरण प्रयोग गरी आवश्यक तथ्याङ्क संकलन तथा समुदायस्तरीय जोखिम विश्लेषणलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयका कार्यक्रम व्यवस्थापक राजुकुमार क्षेत्री, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन (DRR-CCA) अधिकृत भोजराज ओझा तथा नेरेसो जाजरकोट जिल्ला शाखाका कार्यक्रम अधिकृत शैलेश श्रेष्ठले गरेका थिए।

समापन कार्यक्रममा शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले समुदायमा आधारित विपद् जोखिम विश्लेषणलाई थप प्रभावकारी बनाउँदै विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई यथार्थपरक, समावेशी र प्रमाणमा आधारित बनाउन यस तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

  • २३ असार २०८३, मंगलवार प्रकाशित
  • Nabintech