
जाजरकोट । छेडागाड नगरपालिकाको कार्कीगाउँ स्वास्थ्य चौकी र झाप्रा स्वास्थ्य चौकीलाई ग्रामीण भिडियो एक्स–रे मेसिन दुई वटा हस्तान्तरण गरिएको छ ।
संस्थागत सुत्केरी सेवाको पहुँच तथा उपयोग बढाउने उद्देश्यले करिब ७ लाख ८० हजार रुपैयाँ लागतमा खरिद गरिएका यी मेसिनहरू सेभ द चिल्ड्रेनसँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्चद्वारा सञ्चालित किशोरी, मातृ तथा नवजात शिशु परियोजना मार्फत उपलब्ध गराइएको हो ।
यी मेसिनहरू बोकेर दुर्गम बस्ती–बस्तीमा पुगेर समेत गर्भवती महिलाको प्रारम्भिक भिडियो एक्स–रे सेवा प्रदान गर्न सकिने भएकाले ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्व सेवामा थप सहजता आउने अपेक्षा गरिएको छ ।
यसले समयमै गर्भावस्थाको अवस्था पहिचान गर्न, आवश्यक परामर्श दिन तथा जोखिमयुक्त गर्भावस्थाको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
मेसिन हस्तान्तरण कार्यक्रममा छेडागाड नगरपालिका उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले यस उपकरणको प्रभावकारी उपयोग गर्दै ग्रामीण समुदायमा संस्थागत सुत्केरी दर वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।