
१९ जेठ काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित समितिले तयार गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले घटना घटाएको उल्लेख छ । प्रतिवेदनमा सपरिवारको हत्या गरी आफैँले गोली हानेर आत्महत्या गरेको दाबी गरिएको छ ।प्रतिवेदन विपरित अधिकांश सर्वसाधारणले सो प्रतिवेदनमा उल्लेख भएअनुसार युवराज दीपेन्द्रले घटना घटाएको भन्ने कुरा पत्याउन सकेका छैनन् । उक्त घटनाको यथार्थ अझै पनि रहस्यमय नै छ ।
दरबार हत्याकाण्ड पछि बनेका हरेक सरकारले घटनाको सत्यतथ्य छानबिन गर्ने उद्घोष गरे पनि घटनाको दुई दशक बितिसक्दा कुनै अनुसन्धान हुन सकेको छैन ।गणतन्त्र घोषणापछि बनेका हरेक प्रधानमन्त्रीले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउने बताउ पनि केही सार्वजनिक हुुन सकेको छैन ।