
९ चैत बाँके । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादी पक्राउ गरेर तीन करोड ३५ लाख ३४ हजार ४९८ जरिवाना असुल उपर गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले उनीहरूमाथि १२५ वर्ष एक महिना नौ दिन कैद सजाय तोकिएको जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८-र८३ को असोजदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्लामा कुल एक हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्तलाई पक्राउ गरिएको उनले बताए ।प्रहरीले अवैध भन्सार छली नियन्त्रणतर्फ ६ महिनाको अवधिमा प्रहरीले रु एक करोड ९५ लाख ६० हजार ४९३ बराबरको राजस्व सङ्कलन गरेको छ । सोही क्रममा ४९ जना पक्राउ परेका छन् भने दुईवटा गाडी, २१ मोटरसाइकल र दुईवटा ई–रिक्सा बरामद गरिएको छ ।ट्राफिक कारबाहीतर्फ जिल्लाभर १५ हजार ६६७ वटा सवारी साधनलाई कारबाही गर्दै रु एक करोड २७ लाख १९ हजार ५०० राजस्व सङ्कलन गरिएको छ । त्यसैगरी, अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा ५२ वटा सवारी साधन नियन्त्रणमा लिँदै रु ६ लाख २५ हजार ५०० राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।