४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
विषाक्त केमिकल २० वर्षदेखि सीधै खोलामा फाल्दै नेपालगञ्ज मेडिकल कलेज
विषाक्त केमिकल २० वर्षदेखि सीधै खोलामा फाल्दै नेपालगञ्ज मेडिकल कलेज
  • डिल्ली शाही

बाँके । ‘गर्मी मौसममा हामी डुडुवा खोलामा नुहाउन जान्थ्यौं । अहिले त खोलाको पानी खुट्टामा प¥र्यो कि चिलाउँछ । खटिरा आउँछ । बालबालिकालाई त खोलामा नुहाउन बन्देज नै लगाएका छौं’, कोहलपुर नगरपालिका—१० चटारका कनिया थारु गुनासो गर्छन्, ‘गाईभैसीले खोलाको पानी खाँदा सधैँ बिरामी हुन्छन् । दूध दिने गाईभैंसीलाई थुन पाक्ने समस्या हुन्छ । नगरपालिकाको पशु शाखालाई उपचारको लागि सधैं गुर्हानुपर्छ ।’

थारु समुदाय डुडुवा खोलामा दाहसंस्कार गर्छन् । क्रियापुत्री र मृतकका आफ्न्त खोलाको पानीमा नुहाउँछन् । स्थानीय रुपनी थारु भन्छिन्, ‘जो जो नुहाउँछन्, उनीहरुको शरीरमा खटिरा आउने र श्वासप्रश्वासमा समस्या आउँछ ।’

डुडुवा खोलाको पानी मानव र चौपायाका लागि हानीकारक भएको बारे जानकारी पाएपछि कोहलपुर टुडेको खोजमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले अस्पतालजन्य फोहरलाई प्रशोधन बिना सिधै डुडुवा खोलामा विसर्जन गर्ने भएकाले मानव र पशु स्वास्थ्यमा गम्भीर असर परेको पत्ता लागेको हो । मेडिकल कलेजको फोहर प्रशोधन गर्ने मेसिन बर्षौदेखि बिग्रिएर थन्किएको छ ।
कोहलपुर टुडेको टिमले प्रशोधन मेसिन भएको स्थानमा स्थलगत अवलोकन गर्दा मेसिनमा प्रयोग हुने बिजुलीको तार, मोटर अन्य समानहरु खिया र माखुराका जाला लागेको अवस्थामा भेटिएका थिए । मेसिन बनाउनुको साटो अस्पतालले अस्पतालजन्य फोहर संकलन गरेर सिधै खोलामा बिसर्जन गरिरहेको रहस्य खुलेको हो । अस्पतालजन्य फोहरबाट निस्कने विषाक्त केमिकलका कारण डुडुवा खोलाको पानी प्रयोग गर्ने कोहलपुरको झन्डै आधा जनसंख्या प्रभावित भएको छ । नगरका १५ वडामध्ये वडा नं. ६, ७ ८, ९, १०, ११, १२, १३, वडाका जनतालाई विषाक्त केमिकलको मारमा छन् ।

डुडुवा खोला नजिकै क्रिकेट मैदान छ । २०६०÷०६२ सालसम्म क्याम्पस र स्कुले विद्यार्थीहरु खोला वारपार गर्थे । कोहलपुरबासीहरु नुहाउनका लागि डुडुवा खोलामा जान्र्थे तर अहिले नुहाउन त के खोला तर्न समेत डराउँछन् । वर्षेनी खोलाले जमिनयोग्य खेती बगाउँदै लगेको छ । त्यसमा पनि खोलाको विषाक्त पानीले खेतमा उब्जनी समेत घटाएको स्थानीय दुःखेसो गर्छन् । स्थानीयलाई खेतमा पानी हाल्नका लागि बैकल्पिक उपाय नै छैन । उता मेडिकल कलेजमा भने प्र्रशोधन गर्ने मेसिन विग्रिएर थन्किएको अवस्थामा छ । अहिले ज्ञानज्योति माध्यमिक बगिया, बागेश्वरी एकेडेमी, बागेश्वरी बहुमुखी, नेपाल राष्ट्रिय आधारभुत विद्यालय चटार लगायतका विद्यार्थीहरुले समेत खोला तर्दैनन् उनीहरुले ११ र १३ जोड्ने पुलबाट लामो यात्रापछि गरी विद्यालयमा आउने गर्छन् ।

यस्तै केमिकल निमूलिकरण गरी डुडुवा खोलामा मिस्याउने भनी २०६५ सालमा सम्झौता भएको नगर विकास समितिका पूर्वअध्यक्ष फुलाराम थारुले बताए । उनी २०६५ देखि २०६७ सालका अध्यक्ष हुन् । ‘पहिले उव्जनिको समस्या थियो तर अहिले मानव र जीवजन्तुमा समस्या छ’ उनले भने, ‘अबको केही महिनापछि कोहलपुरबासीलाई समस्या हुनेछ ।’ त्यसको लागि मेडिकल कलेजलाई समयमा नै सचेत गराई विषाक्त केमिकल प्र्रशोधन गरी खोलामा मिस्याउन सबैले दवाब दिन आवश्यक रहेको थारु बताउँछन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बदमास काम गरेको नगर विकास समितिका पूर्व अध्यक्ष अवराज खड्काले बताए । ‘१० पटकभन्दा बढि कलेजमा ध्यानाकर्षण गरिसकेका छौं तर सुनुवाई भने गरेको छैन, उनले भने, ‘५९ सालदेखि विषाक्त केमिकल बगाउँदै आएको छ ।’ बाहिरबाट फोहर उठाउने गरेको छ तर त्यो कहाँ फाल्छ भन्ने कोहलपुर बासीलाई थाहा छैन । ‘जुन भित्रबाट उत्पादन वा प्रयोग गरेको केमिकल सीधै नालामा मिस्याइएको छ, उनले थपे, ‘त्यसलाई बन्द गर्नका लागि धेरै प्रयास गर्यो तर मेडिकलले अटेरी ग¥र्यो ।’ अब कोहलपुर नगरपालिकाको नेतृत्वमा मेडिकल कलेजलाई दवाव दिनका लागि तयार रहेको खड्का बताउँछन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले प्रयोग गरिएको केमिकललाई प्रशोधन नगरी खोलामा बगाउने गतल काम भएको उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए । ‘विगतदेखि नै उवासंघले सो विषयमा घच्घच्याइरहेको तर अझै पनि अटेरी गरेको छ’ उनले भने, ‘यसका लागि कोहलपुर नगरपालिकाको समन्वयमा कोहलपुरका उद्योगीहरुले त्यसमा साथ सहयोग रहनेछ ।’ ‘२०६५ सालमा दशविगाहदेखि डुडुवा खोलासम्मको नाला निर्माण गर्न लगाइयो, त्यहाँ प्रयोग भएको विषाक्त केमिकललाई प्रशोधन गरी खोलामा मिस्याउनका लागि सहमती भएको हो’ उनले थपे ‘तर निमूलिकरण नगरी खोलामा बगाउँदा कोहलपुरबासीलाई समस्या भो ।’ त्यसैले यसलाई तत्काल समाधान गर्नुपर्ने उवासंघका अध्यक्ष पौडेलले बताए ।

स्थानिय सरकारले नेपालगञ्ज मेडिकल कलेजलाई प्र्रतिबन्ध लगाउनुपर्ने नेपाल घरेलु महासंघ कोहलपुर नगर समितिका महासचिव सिएम उपाध्यायले बताए । ‘प्र्रत्यक्ष रुपमा मानविय रुपमा समस्या आएको छ, उनले भने, ‘यसले मानविय मात्र होइन जिवजन्तुहरुलाई समेत असर गरेको छ ।’

नेपालगन्ज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइयो) सुनिलकुमार सिंहले आफू भर्खरै मात्र आएको त्यस बारेमा जानकारी नभएको भनेर पन्छिए । मेडिकल कलेजका २२ वर्षदेखि कार्यरत इन्जिनियर प्रमुख कौशलकिशोर शुक्लाले प्रशोधन गर्ने मेसिन लाइन नभएका कारणले सञ्चालन नभएको र लाइन आएपछि मात्र सञ्चालन हुने बताए ।

स्थानीय जनताको पटक—पटकको आग्रहलाई अस्पताल स्वयम् तथा यसअघिका मेयर र नगर विकास समितिले बेवास्ता गरेको भन्दै मेडिकल कलेजलाई चिठि काटेकोे बताए । ‘मैले मेडिकल कलेजलाई पहिलो पत्र काटेको छु, उनले भने, ‘बर्षौंदेखि अटेर गरेर दुषित क्यामिकल फोहरमैला खुलेआम नालामा मिसाउनु गम्भीर गल्ती हो, यसमा नगरपालिकाले विशेष चासो लिई समाधानको पहल गर्नेछ ।’ त्यसको लागि स्थानीयहरुको साथ र सहयोगको आवश्यक रहने आचार्यले बताए ।

बाँकेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले ढल व्यवस्थापन गर्नका लागि नेपालगञ्ज मेडिकल कलेजलाई चिठि लेखेका छन् । मिति २०७९ साल ०२ महिना १९ गतेका दिन वातावरण तथा विपद् शाखामार्फत नेपालगञ्ज मेडिकल कलेजलाई पत्र पठाएको छ । जसमा भनिएको छ, ‘त्यहाँबाट उत्पादन भएको क्यामिकल जन्य फोहर डुडुवा खोलामा ढल विर्सजन भएको बुझिएकोले त्यसको तत्काल मेडिकल कलेजको फोहरमैला व्यवस्थापन एवं ढल निकासको मापदण्ड बमोजिम व्यवस्थापन गर्नहुन जानकारी गराइन्छ ।’

कोहलपुर नगरपालिकाको फोहरमैला व्यवस्थापन ऐन, २०७८ ले रासायनिक फोहरमैला, उद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्न, राख्ने वा निष्कासन गर्ने नपाउने व्यवस्था गरेको छ । ऐनमा रासायनिक बिषादीको आयात गर्ने वा म्याद नाघेको औषधि नष्ट गर्ने व्यवस्था छ । कानुन विपरित कार्य गर्नेलाई स्थानीय तहले पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ । सोही कसूर पनुः गरेमा पहिलो पटक गरेको जरिवानाको दोब्बर जरिबाना गरी प्रचलित कानून बमोजिम अनुमति पत्र रद्द गर्नको लागि सम्बन्धित निकायमा लेखेर पठाउन सक्ने व्यवस्था छ ।

  • ५ असार २०७९, आईतवार प्रकाशित
  • Nabintech