२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार
प्रकाश सपुत सांसद नबन्ने लगभग पक्का
प्रकाश सपुत सांसद नबन्ने लगभग पक्का
  • न्युज डेस्क

२९ फागुन काठमाडौं । गायक प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को समानुपातिक सांसद बन्ने सम्भावना कमजोर देखिएको छ । रास्वपाले बन्दसूचीबाट थोरै मात्र पुरुष उम्मेदवार छान्न सक्ने भएपछि सपुतको सम्भावना कमजोर भएको हो ।

कुनै पनि दलले संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनै पर्ने संवैधानिक प्रावधान रहेको छ । प्रत्यक्षतर्फ रास्वपाबाट १३ जना महिला निर्वाचित भएका छन् ।कुल संख्या १८२ को ३३ प्रतिशत पुर्‍याउन समानुपातिकबाट ४८ जना महिला थप्नुपर्ने हुन्छ । समानुपातिकमा ५७ सिट जितेको रास्वपाले ४८ जना महिला रोज्नुपर्ने भएपछि पुरुषका लागि ९ सिट मात्रै बाँकी रहेको छ । त्यसले गर्दा नै सपुतको सम्भावना कमजोर बनेको स्रोत बताउँछ ।राजनीतिक पृष्ठभूमि नभएका सपुतलाई बालेनको कोटाबाट दलित जनजाति क्लस्टरको दोस्रो नम्बरमा राखिएको थियो । समानुपातिकमा रास्वपाले ८ जना दलित उम्मेदवार लैजानुपर्ने छ । तर, पुरुषतर्फ भने पहिलो नम्बरमा रहेका प्रकाशचन्द्र परियारमात्रै छनोटमा पर्न सक्ने स्रोतले दाबी गर्‍यो ।

स्रोतका अनुसार पुरुषतर्फ खसआर्यबाट ३ जना लैजाने तयारी गरिएको छ । यस क्लस्टरमा पहिलो नम्बरमा रमेश प्रसाईँ, दोस्रोमा सुदिप ढकाल र तेस्रोमा प्रमोद न्यौपाने छन् । रास्वपाका सहप्रवक्ता प्रसाईँको छनोट हरहिसाबले निश्चित छ । प्रखर वक्ताका रूपमा चिनिने उनी रास्वपा पङ्तिमा निकै लोकप्रिय छन् । समानुपातिक उम्मेदवार छान्न रास्वपाभित्र भएको प्राइमरी इलेक्सनमा प्रसाईँले सर्वाधिक मत ल्याएका थिए ।दोस्रो नम्बरमा रहेका ढकाल बालेनको कोटाबाट परेका हुन् । बालेन महानगर प्रमुख हुँदादेखि नै उनले निकट रहेर काम गरेका थिए । तेस्रो नम्बरमा रहेका न्यौपाने सभापति रवि लामिछानेका एक रणनीतिकार र विश्वास पत्र हुन् ।बलियो राजनीतिक सुझबुझ र बौद्धिकता भएका कारण न्यौपानेलाई रविले सांसदमा लैजान चाहेका छन् । रास्वपाभित्र पनि न्यौपानेलाई संसदमा देख्न चाहने धेरै छन् ।

आदिवासी जनजातिको कोटामा रास्वपाले १६ जना सांसद छान्नुपर्ने देखिन्छ । जसमध्ये पुरुषबाट भने दुई जनाको मात्रै सम्भावना छ । आदिवासी जनजाति पुरुषतर्फ पहिलो स्थानमा रहेका राम लामा सांसद बन्ने निश्चितप्राय छ । उनी बालेनको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् । यस्तै, दोस्रो स्थानमा रहेका खुस्बुसरकार श्रेष्ठको सम्भावना पनि बलियो छ । उनी रास्वपाका संस्थापक सदस्यमध्ये एक हुन् ।मधेशी कोटामा रास्वपाले ९ जना सांसद छान्नुपर्ने हुन्छ । जसमध्ये पुरुषबाट एक जना मात्रै पर्ने सम्भावना छ । मधेशी पुरुष क्लस्टरमा पहिलो स्थानमा रहेका पुरुषोत्तम सुप्रभात यादव छनोटमा पर्ने निश्चित छ । उनी जेनजी आन्दोलनबाट उदाएका युवा हुन् ।थारु क्लस्टरमा रास्वपाले ४ जना सांसद बनाउनुपर्ने छ । थारु महिलातर्फ बन्दसूचीमा दुई जनाको मात्रै नाम छ, जसले गर्दा पुरुषतर्फ दुईजना रोज्नुपर्ने हुन्छ । थारु पुरुषको क्लस्टरमा पहिलो स्थानमा रहेका सुरेन्द्र चौधरी सांसद बन्ने निश्चित छ । ४ जनाको कोटा पुर्‍याउन दोस्रो स्थानमा रहेका प्रेमलाल चौधरीलाई पनि लैजानुपर्ने देखिन्छ ।अब बाँकी रह्यो केवल एक सिट । त्यसमा मुस्लिम क्लस्टरबाट लैजाने सम्भावना छ । पुरुष मुस्लिमतर्फ पहिलो स्थानमा सैय्यद बकार अहमद साह छन् । उनलाई नरोजेर तीनजना नै मुस्लिम महिला रोज्ने विकल्प पनि छ ।

त्यसो भएमा प्रकाश सपुतका लागि एक सिट खाली हुन सक्छ । तर, त्यो सम्भावना कम रहेको पार्टी स्रोत बताउँछ ।सपुतले अब आफ्नो सांगीतिक यात्रालाई स्थगन गरेर राजनीतिमा होमिएको घोषणा गरेका थिए । आफ्ना सबै सांगीतक कार्यक्रमहरुलाई बिट मारेर उनी रास्वपाको चुनावी अभियानमा लागे । संगीत क्षेत्रमा लोकप्रियताको शिखरमा रहेको कलाकारले माननीय बन्ने लोभ देखाएको भनेर उनले चर्को आलोचनासमेत खेप्नु परेको थियो । तर, उनी आफ्नो उम्मेदवारीबाट पछि हटेनन् ।तर, सपुतको सांसद बन्ने सपना अधुरो रहने सम्भावना बढेको छ । यसको संकेत आज उनले फेसबुकबाट गरेको पोस्टबाट पनि मिल्छ । उनले आफ्नो भावि विदेश भ्रमणको एउटा पोस्टर सार्वजनिक गरेका छन् । जसअनुसार उनले आगामी असारमा आयरल्यान्डमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ ।

  • २९ फाल्गुन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech