१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार
चुनावी प्रचारमा सरकारी कर्मचारी र सवारी प्रयोग भएको भन्दै तरुण दल नलगाडद्वारा आपत्ति
चुनावी प्रचारमा सरकारी कर्मचारी र सवारी प्रयोग भएको भन्दै तरुण दल नलगाडद्वारा आपत्ति
  • paschimpatra

जाजरकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नलगाड नगरपालिका जाजरकोटले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक निकायको तटस्थता, पारदर्शिता र निष्पक्षता कायम गर्न माग गर्दै नलगाड नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

नलगाड तरुण दलका अध्यक्ष सुजल रावलद्वारा हस्ताक्षरित पत्रमा निर्वाचन अवधिमा आचारसंहिता विपरीत नगरपालिकाबाट स्रोत–साधन दुरुपयोग भएको भन्ने व्यापक जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

पत्रमा कार्यालयका सवारीसाधन निर्वाचन प्रचार–प्रसारमा प्रयोग भइरहेको, उपप्रमुख तथा कार्यालय प्रमुखका लागि खरिद गरिएका मोटरसाइकल लगायतका साधन निर्वाचन प्रयोजनमा संलग्न भएको विषयमा कार्यालयले रोकथामका लागि पहल नगरेको आरोप लगाइएको छ।

त्यसैगरी, नगर प्रमुखका स्वकीय सचिव, शिक्षक तथा नगरपालिकाका कर्मचारीहरू कार्यालय समयमै राजनीतिक गतिविधि र प्रचारप्रसारमा संलग्न भएको तथा सामाजिक सञ्जालमार्फत उम्मेदवारका पक्षमा मत मागिरहेको विषयमा समेत आपत्ति जनाइएको छ।

आचारसंहिता लागू भइसकेपछि नयाँ योजना सम्झौता, पाइप वितरण लगायतका कार्यक्रम सञ्चालन भइरहेको भन्दै तरुण दलले यसप्रति तुरुन्त ध्यान दिन माग गरेको छ।

पत्रमा निर्वाचन अवधिमा सम्पूर्ण गतिविधि कानुनी प्रावधान र निर्वाचन आचारसंहिताभित्र रही सञ्चालन गर्न, मातहत कर्मचारीलाई स्पष्ट निर्देशन दिन तथा सम्भावित उल्लङ्घन रोक्न प्रभावकारी अनुगमन र नियन्त्रणको व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
साथै, उल्लिखित कार्य तत्काल नरोके कानुन बमोजिम कारबाहीका साथै आवश्यक परे तरुण दलको तर्फबाट समेत कारबाही गरिने चेतावनी दिइएको छ।

  • ११ फाल्गुन २०८२, सोमबार प्रकाशित
  • Nabintech