
१ माघ सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीनजनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगंगा नगरपालिका–५, गेरवानी क्षेत्रमा ५७ वर्षीया गंगा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो ।
सल्यानको कालीमाटी र सुर्खेतको भेरीगंगाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घाँसदाउरा गर्न जानेहरू पाटेबाघको आक्रमणमा पर्ने गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए ।गत पुस २९ गते घट्टामा पिठो पिस्न गएका कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई पाटेबाघले आक्रमण गरेपछि मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।एक साताभित्रै तीनजनाको ज्यान गएपछि निकुञ्ज क्षेत्र आसपासका बासिन्दामा त्रास छाएको कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए । उनले बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले आतंक सिर्जना गरेको भन्दै स्थानीय त्रासित बनेका उल्लेख गरे ।जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत टेकबहादुर रावलले बाघले दुईवटा घरपालुवा गाईगोरुलाई पनि आक्रमण गरेर मारेको जानकारी दिए ।