
जाजरकोट । जिल्ला वन क्षेत्र समन्वय समितिको पहिलो बैठक जिल्ला समन्वय समिति जाजरकोटको सभाहलमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएकाे बैठकमा डिभिजन वन कार्यालय जाजरकोटका डिभिजनल वन अधिकृत दिपेश के.सी.ले चालु आर्थिक वर्ष २०८२/०८३ का स्वीकृत वार्षिक कार्यक्रम तथा हालसम्मको प्रगतिको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
बैठकले वन कार्यालयबाट सञ्चालन हुने कार्यक्रमहरू स्वीकृत कार्यविधिअनुसार समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
पकेट क्षेत्रमा जडिबुटी संरक्षण कार्यक्रमअन्तर्गत जडिबुटी संरक्षण र दिगो विकासका लागि प्रवर्द्धन गर्नुपर्ने उपयुक्त प्रजाति छनोट गरी सरोकारवालासँग प्रस्तावना आह्वान गर्ने निर्णय गरिएको छ। साथै जिल्लाभर सञ्चालन हुने अनुदानमा आधारित कार्यक्रमहरू निजी उद्यमी, सामुदायिक तथा कबुलियती वन, निजी फर्म, समूह र सहकारीमार्फत कार्यान्वयन गर्ने प्रक्रिया फोकल टिम बैठकबाट निर्धारण गरिनेछ।
बैठकले शिवालय गाउँपालिका–१ स्थित छेडा क्षेत्रलाई जिल्लाबाट निकासी हुने वन पैदावारको प्रमुख मार्गका रूपमा उल्लेख गर्दै सो स्थानमा वन चेकपोष्ट स्थापना गर्न आवश्यक ठहर गरेको छ। अवैध वन पैदावारको चोरी निकासी नियन्त्रण तथा वैध निकासीको अनुगमनका लागि प्रदेश वन निर्देशनालयमार्फत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर सुर्खेतलाई सिफारिस गर्ने निर्णय गरिएको छ।
बैठकमा भेरी नगरपालिकाका उपप्रमुख सिता गौतम, शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही, छेडागाड नगरपालिकाका उपप्रमुख, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर शाही, बृहत जलाधार व्यवस्थापन केन्द्र जाजरकोटका कार्यालय प्रमुख सुशील पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ जाजरकोटका अध्यक्ष प्रेमबहादुर कार्की, जडिबुटी व्यवसायी संघ, उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश के.सी.लगायत ३५ जनाभन्दा बढीको सहभागिता रहेको थियो।