
जाजरकोट । नेपाली काङ्ग्रेस छेडागाड नगर कार्यसमिति सचिव पदका लागि यकराज बस्नेतले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउँदै युवालाई नेतृत्वको केन्द्रमा ल्याउने उद्देश्यसहित आफू उम्मेदवार बनेको उनले बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै बस्नेतले यो कुनै पदप्रतिको मोह नभई पार्टीभित्र जरा गाडेर बसेको जडता तोड्ने र परिवर्तनको अभियान सुरु गर्ने निर्णय भएको स्पष्ट पारे। “नेपाली काङ्ग्रेस कमजोर हुनुको कारण विचार होइन, युवालाई अवसर नदिनु हो,” उनले भने, “अब पार्टी चलाउन भाषण होइन, मेहनत, मैदान र संगठन चाहिन्छ।”
उनका अनुसार पार्टीभित्र केही सीमित अनुहारले नेतृत्व कब्जा गर्दा युवाहरू पंक्तिमा सीमित हुन बाध्य भएका छन्, जसले काङ्ग्रेसको भविष्यमा नकारात्मक असर पारेको छ। त्यसैले अब निर्णायक भूमिकामा युवाको अनिवार्य सहभागिता आवश्यक रहेको उनले जोड दिए।
नगर तहदेखि पार्टीलाई चलायमान बनाउने, टोल–टोलमा संगठन विस्तार गर्ने, निष्क्रिय कार्यकर्तालाई सक्रिय बनाउने र नेपाली काङ्ग्रेसलाई फेरि जनताको भरोसाको शक्तिका रूपमा स्थापित गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बस्नेतको भनाइ छ।
उनले आफ्नो उम्मेदवारी व्यक्तिगत नभई परिवर्तन चाहने सम्पूर्ण युवाहरूको साझा आवाज भएको उल्लेख गर्दै पार्टीभित्र सुधार चाहने नेता–कार्यकर्ता तथा युवालाई साथ दिन आग्रह गरेका छन्।