
जाजरकोट। आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले सञ्चालन गर्दै आएको वार्षिक नियमित जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धनात्मक सेवा कार्यक्रम अन्तर्गत भेरी नगरपालिका–३ स्थित ठाँटी बृद्धा आश्रममा स्वास्थ्य सेवा प्रदान गरिएको छ।
कार्यक्रम अन्तर्गत ३१ जना बृद्ध–बृद्धाहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूमा भेटिएका शारीरिक, मानसिक तथा नसर्ने रोगसम्बन्धी समस्या अनुसार आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।

कार्यक्रमले उच्च उमेरका व्यक्तिहरूमा सामान्यतया देखिने रोग व्यवस्थापनका लागि अश्वगन्धा, च्यवनप्राश, वातशामक तेल तथा अन्य रसायन औषधि निःशुल्क वितरण गरेको थियो।
यस कार्यक्रमले जेष्ठ नागरिकहरूको स्वास्थ्य प्रवर्द्धन तथा रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। भेरी नगरपालिका–३ ठाँटी बृद्धा आश्रममा हरेक महिनाको ५ गते यो सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
उक्त कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका कार्यालय प्रमुख डा. सुदर्शन पोख्रेलको अध्यक्षतामा शुभारम्भ गरिएको थियो।