
२२ कात्तिक काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ । उपचारका क्रममा उनको गएराति २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिनदेखि काठमाडौं मेडिकल कलेज केएमसीमा राखेर उपचार भइरहेको थियो ।
मिर्गौला फेल भएपछि डायलाइसिस भइरहेको थियो । गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो ।आलम विसं २०६७ को पार्टीको १२औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।२०६४ चैत २७ गते संविधान सभा निर्वाचनको अघिल्लो राति बम विष्फोट भएको घटनाका घाइतेलाई जिउँदै इटाभट्टामा जलाएको उनीमाथि आरोप लागेको थियो ।सोही मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालत वीरगन्जले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए ।आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए । विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री भएका थिए ।
आलम २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । त्यसपछि उनी भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए ।