
 
      ७ असोज बाँके । दसैँ सुरु भएसँगै नेपालगञ्ज जमुनाह नाकाबाट नेपाल फर्कनेहरुको घुइँचो लाग्न थालेको छ ।पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरु धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुँइचो लाग्न थालेको हो ।इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किनेको सङ्ख्या ह्वात्तै बढेको बताउनुभयो ।
एक सातामा यस नाकाबाट ३५ हजार १७५ जना स्वदेश फर्किएका छन् । त्यसैगरी ३४ हजार ७१० भारततर्फ गएका छन् ।दैनिक करिब दुई हजारको हाराहारीमा नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्किरहेको उनको भनाई छ । केही दिनअघि भएको जेनजी प्रदर्शनका क्रममा सीमा नाका बन्द थियो । नाका पुनः सञ्चालनमा आएपछि भारतबाट आउने नेपालीको सङ्ख्या बढेको प्रहरीले जनाएको छ ।