
जाजरकोट । नेपालीहरूको महान् चाड विजयादशमी र दिपावली नजिकिँदै गर्दा बजारमा उपभोक्ताको भीड बढ्ने अनुमानसहित जाजरकोटमा बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सरोकारवाला निकायको संयुक्त टोलीले सदरमुकाम खलंगा, शान्तिचौतारा र ठाँटीबजार क्षेत्रमा रहेका होटल, उद्योग तथा खाद्य पसलहरूको अनुगमन गरेको हो।
अनुगमनका क्रममा म्याद गुज्रिएका कुरमुरे, बिस्कुट, पेय पदार्थलगायतका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको प्रशासकीय अधिकृत समीर गौतमले जानकारी दिए ।

त्यसैगरी, केही पसलमा लेबल नलगाइएका खाद्यवस्तु बिक्रीवितरण भइरहेको पाइएको छ । आगामी दिनमा यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिइएको प्रशासकीय अधिकृत गौतमले बताए ।
अनुगमनमा सहभागी टोलीका अनुसार, अधिकांश खाद्य पसल अनुमति नलिएर सञ्चालन भइरहेका भेटिएका छन् । उनीहरूलाई अबदेखि अनुमति लिएर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

चाडपर्व नजिकिँदै बजारमा उपभोक्ताको चाप बढ्ने भएकाले सामान किन्दा सचेत रहन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ। म्याद गुज्रिएका वस्तुको सेवनले स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने भन्दै सचेतना अपनाउन सुझाव दिइएको हो।