१६ भदौं काठमाडौं । अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ६.० म्यग्निच्युड मापन गरिएको छ ।भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । एक सयजना घाइते भएको बीबीसीले बताएको छ ।दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको तालिवान सरकारका विभिन्न स्रोतहरूले बताएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको बीबसीले जनाएको छ ।तालिवान सरकारका अधिकारीहरूले मानवीय संस्थाहरूलाई दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।
पहिरो र बाढीका कारण केही ठाउँमा हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।भूकम्पले काबुलदेखि ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई हल्लाएको बताइएको छ ।अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्रबिन्दु नन्गरहार प्रान्तको जलालाबादनजिकै आठ किलोमिटर गहिराइमा थियो ।आइतबार स्थानीय समयअनुसार राति ११ . ४७ बजे भूकम्प गएको थियो ।