१३ साउन काठमान्डौं । श्रावण शुक्ल पञ्चमी अर्थात आज नाग पञ्चमीमा नाग वा सर्पको पूजा गरिन्छ । आज बिहानै उठी स्नान गरी दियो, कलश, गणेश भगवानको पूजा गरी आफ्ना घरको ढोकाको दुवै तर्फ गाईको गोबरले विषालु सर्पको चित्र लेखेर टाँस्नु पर्दछ । नागको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरी ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।
आज नाग पञ्चमी साउन महिनामा परेको हुनाले नागको शिर उत्तर दिशामा सम्झी पूजा गर्नु पर्दछ । आज बिहान ८ बजेर ४८ मिनेटदेखि १० बजेर २९ मिनेट सम्म लाभ बेला र १० बजेर ३० मिनेटबाट मध्यान्ह १२ बजेर ९ मिनेट सम्म अमृत बेला रहेकोले यो समयमा नाग टाँस्नु शुभ मानिन्छ ।परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ । ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास रहँदै आएको छ । कुनै पनि घर तथा बंगाला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए बिधिवत रूपमा पूजा गरे नागको दोषबाट मुक्त हुन धार्मिक जन विश्वास रही आएको छ ।नाग पञ्चमीको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरी सूर्यास्त भए पछि नाग देवताको मूर्तिमा विभिन्न सामानहरू जस्तै फूल, प्रसाद तथा फलले पूजा आजा गरी प्रसाद बाढ्ने तथा आफूले पनि लिने गर्दछन् । यसरी श्रावण शुक्ल पञ्चमीको दिन श्रद्धा तथा भक्तिका साथ मनाइने यो पर्व हिन्दुधर्मावलम्बिहरुले धूमधामका साथ मनाउने गर्दछन् ।