जाजरकोट । जाजरकोटको पाँचकाटिया–बउेलीढुंगा सडकखण्डमा निर्माण कार्यप्रति सामाजिक सञ्जालमा भिडियोसहित नकारात्मक प्रचार बढेपछि, सो सडक आयोजनामा सरोकारवालाहरूको संयुक्त अनुगमन गरिएको छ।
जिल्ला समन्वय समितिको अगुवाइमा सम्पन्न अनुगमनमा प्राविधिक टोली, जनप्रतिनिधि, ठेकेदार कम्पनी र स्थानीय सरोकारवालाहरूको सहभागिता थियो। टोलीले सडकको निर्माण गुणस्तर, प्रगति र आलोचना भइरहेका पक्षहरूको स्थलगत अवलोकन गरेको हो।
कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भने, “सडक निर्माण कार्य सकारात्मकभन्दा पनि नकारात्मक प्रचारको चपेटामा परेको छ। यसले सम्पूर्ण निर्माण प्रणालीप्रति नै प्रश्न चिन्ह खडा हुन थालेको छ।”
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले अनुगमन क्रममा भने, “यहाँ पुग्दा काम सन्तोषजनक देखिएको छ। तर अझै गुणस्तरीय बन्न आवश्यक छ। विकास निर्माणमा सबै जिम्मेवार पक्ष संवेदनशील र जवाफदेही बन्नुपर्छ। साथै, नकारात्मकभन्दा सकारात्मक सोचको विकास गर्नु आजको आवश्यकता हो।”
सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले निर्माण कम्पनीलाई बारम्बार ताकेता गरिएको जानकारी दिँदै भने, “सडक निर्माण सम्पन्न गर्दा गुणस्तरीय र समयमा होस् भन्ने कार्यालयको स्पष्ट मापदण्ड छ। गुणस्तरीयतामा कार्यालयले कुनै पनि हालतमा सम्झौता (कम्प्रोमाइज) गरेको छैन।
साथै, सबै सरोकारवालालाई नकारात्मक होइन, सकारात्मक सन्देश फैलाउन आग्रह गरिएको छ।”
यो आयोजनाअन्तर्गत ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि. सँग २०७९ माघ २८ गते सम्झौता गरिएको हो। ठेक्का रकम (करबाहेक) ३५ करोड १५ लाख २५ हजार ३०२ रुपैयाँ रहेको र २०८२ साउन २७ सम्मको म्याद दिइएको छ।
हालसम्म भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९० प्रतिशत पुगेको प्राविधिक टोलीले जनाएको छ।
सडक निर्माण सम्पन्न भएपछि स्थानीयको आवागमन, बजार पहुँच, स्वास्थ्य सेवा उपयोग र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ। अनुगमन टोलीले बाँकी काम तोकिएको समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ।
भिडियो