जाजरकोट,
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र ह्याण्डी क्याप इन्टरनेशनलको साझेदारीमा सञ्चालित अपाङ्गता भएका महिला, बालबालिका र संकटाशन्न व्यक्तिहरुको पुनःस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि परियोजना र मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्तर्गत संयुक्त रूपमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्राती
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीको कार्यकक्षमा, जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। आ.व. २०८१/८२ मा परियोजनाले गरेका प्रमुख क्रियाकलाप तथा उपलब्धिहरू सरोकारवाला निकाय समक्ष प्रस्तुत गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको हो।
बैठकमा परियोजना संयोजक बीर बहादुर विकले अपाङ्गता तथा संकटाशन्न व्यक्तिहरूका लागि सञ्चालित कार्यक्रमहरूको विस्तृत जानकारी प्रस्तुत गरे। भेरी नगरपालिका र नलगाड नगरपालिकामा सञ्चालनमा रहेको यस परियोजनाले प्राथमिक स्वास्थ्य, पुनःस्थापना तथा आर्थिक–सामाजिक सेवामा पहुँच विस्तार गर्ने कार्य गरिरहेको छ।
यस्तैगरी, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाका संयोजक सुरेन्द्र सापकोटाले जिल्लाका सातै पालिकामा सञ्चालनमा रहेका कार्यक्रमहरूबारे जानकारी दिए। सुत्केरी महिला, नवजात शिशु, गर्भवती महिला, किशोरकिशोरी, स्वास्थ्यकर्मी लगायत लक्षित समूहहरूमा सेवा पुर्याउँदै आएको यो परियोजना हाल ४० वटा बर्थिङ्ग सेन्टरमा कार्यरत रहेको छ भने बाँकी ६ केन्द्रमा परियोजना विस्तार गर्ने तयारीमा रहेको जानकारी दिइयो। साथै, हाल जिल्लामा घरमै सुत्केरी हुने महिलाको संख्या ५०० भन्दा बढी रहेको र यसलाई शून्यमा झार्न चुनौती रहेको सापकोटाले बताए।
बैठकमा जिल्ला समन्वय प्रमुख खत्री, डा. अखिलेश झा, मोनिला कुमाल, प्रजिअ मंग्राती, जिल्ला प्रहरी कार्यालय प्रमुख बसन्त कुमार शर्मा, सशस्त्र प्रहरी नायव उपरीक्षक लाल बहादुर चन्द, अनुसन्धान प्रमुख चिरञ्जिवी बुढा, गैसस महासंघ अध्यक्ष सहदेव वस्नेत, भेरी नगरपालिकाका यज्ञ गौतमसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा सहभागी सरोकारवालाहरूले परियोजनाका गतिविधिप्रति चासो राख्दै जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि अझ समन्वयात्मक प्रयास आवश्यक रहेको उनीहरूले उल्लेख गरेका थिए।