२४ जेठ काठमाडौं । अमेरिकामा एउटा घरमा चारजना नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानसास पार्कमा रहेको एक घरमा बिहीबार चारजना मृत फेला परेका हुन् ।मृत फेला पर्नेमा दुई बालबालिका र दुई वयस्क छन् । मृत्यु हुने दुई वर्षीय बालक, आठ वर्षीया बालिका छन् । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।बाँकी दुईजनामा ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ रहेका समाचारमा उल्लेख छ ।उनीहरूको शव पोष्टमार्टमका लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले विज्ञप्ति जारी गर्दै जनाएको छ । उनीहरूको नेपालको ठेगाना खुलाइएको छैन ।मृतक सबैको शरीरमा गोली लागेको एनबीसीवासिङटन अनलाइनले समाचारमा उल्लेख गरेको छ । गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला पारिएको प्रहरीले जनाएको छ ।
घटना हत्या हो अथवा आत्महत्या अनुसन्धान सुरु गरिरहेको प्रहरीले बताएको समाचारमा उल्लेख छ । चारै जनाको शरीरमा गोली लागेको स्पष्ट चोट रहेकाले गोलीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट बन्दुक पनि बरामद भएको छ ।