जाजरकोट । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाहीका छोरा पारस शाहीलाई अवैध रूपमा सरकारी कागजात दुरुपयोग गरी रकम असुल गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जाजरकोट प्रहरीले नकली छाप, लेटरप्याड र रसिद प्रयोग गरेर अवैध असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पारसले खानी तथा जडीबुटी निकासीका नाममा रकम असुल गर्दै आएका थिए। उक्त कार्यमा गाउँपालिका अध्यक्ष शाहीले समेत आफ्नो हस्ताक्षर प्रयोग गरी छोरालाई नियुक्ति दिएको खुलेको छ।
यसैबीच, उपाध्यक्ष वीरन्द्र शाहीको कार्यालयमा मदिरा सेवन गरेर जथाभावी गर्ने व्यवहारले समस्या सिर्जना गरेको कर्मचारीहरूले बताएका छन्। उपाध्यक्ष शाहीले मदिरा सेवनपछि अपशब्द प्रयोग गर्दै कर्मचारीहरूसँग दुर्व्यवहार गरेको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
यस घटनाले गाउँपालिकाको शासकीय मर्यादामाथि गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ।