७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
जाजरकोट उद्योग वाणिज्य संघमा लफडा
जाजरकोट उद्योग वाणिज्य संघमा लफडा
  • न्युज डेस्क

जाजरकाेट । उद्योग वाणिज्य संघ जाजरकोटको नयाँ नेतृत्व चयनमा लफडा सुरु भएको छ । अहिलेको कार्य समितिको कार्यकाल सकिएको लामो समय सम्म पनि नयाँ नेतृत्व चयनका लागि कुनै प्रक्रिया सुरु हुनसकेको छैन । विधान अनुसार २०७७ सालको भाद्र महिनामा कार्यसमितिको कार्यकाल सकिएको थियो । ६ महिना कार्यकाल थप गर्न सक्ने विधानको व्यवस्था बमोजिम ६ महिना कार्यकाल थप गरी गत चैतमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचन समितिले काम सुरु गरेपछि नेकपा एमाले र कांग्रेस निकट व्यवसायीहरुको अगुवाईमा संघको कार्यालयमा तालाबन्दी गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया रोकिएको संघका महासचिव इश्वरी बहादुर खत्रीले जानकारी दिनुभयो । त्यस पछिको लामो विवाद पछि तत्काल निर्वाचन गर्ने गरी यहि माघ २६ गते भित्र सदस्यता नविकरण गर्ने सहमति भएकोमा अन्तिम दिन पुनः एमाले, कांग्रेस र माओवादी निकट व्यवसायीहरुको अगुवाईमा कार्यालयमा तालाबन्दी गरिएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अनिश्चित भएको महासचिव खत्रीको भनाई छ ।

निर्वाचनमा गएपछि आफुहरु पराजित हुने निश्चित भएपछि संघको कार्यालयमा पटकपटक तालाबन्दी गरिएको खत्री बताइएको छ । आज संघका वरिष्ठ उपाध्यक्ष शिवविक्रम हमाल, महासचिव इश्वरी बहादुर खत्री र कोषाध्यक्ष मोहन खड्काले एक विज्ञप्ति जारी गर्दै संस्थालाई विधान अनुरुप चल्ने वातावरण निर्माण गर्न माग गरेका छन । व्यक्तिगत तथा समुहगत स्वार्थका लागि संस्थालाई बन्धक नबनाई सकेसम्म सहमतिबाट र नभए प्रक्रियामा गई समस्या समाधान गर्न उनिहरुको माग छ ।

यसैविच जाजरकोट उद्योग वाणिज्य संघमा देखिएको विवादका विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले सर्बदलिय बैठक बोलाउनु भएको छ । संघमा देखिएको विवादका विषयमा छलफल गर्न भन्दै प्रमुख जिल्ला अधिकारी देवकोटाले फागुन १ गते सबै दलका प्रतिनिधि र संघका पदाधिकारीहरुको बैठक बोलाउनु भएको बताइएको छ ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित
  • Nabintech