३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
बहालवाला डिएसपी हेमबहादुर शाहीका कारण प्रहरी भित्र खैलाबैला
बहालवाला डिएसपी हेमबहादुर शाहीका कारण प्रहरी भित्र खैलाबैला
  • न्युज डेस्क

२२ भदौ काठमान्डौ । प्रहरी प्रधान कार्यालयले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंकामा तीनजना नेपालीको विवरण माग गरेको छ । यसरी विवरण माग गरिएकामध्ये एकजना प्रहरीकै बहालवाला डीएसपी पनि रहेका छन् । इन्टरपोलले पत्राचार गरेका तीनमध्ये एक नेपाल प्रहरीकै बहालवाला प्रहरी नायब उपरीक्षक डीएसपी हेमबहादुर शाही भएको खुलेको छ । १४ अक्टोबर १९७९ मा जन्मिएका शाहीको ठेगाना कैलाली हो । इन्टरपोलले उपलब्ध गराएको विवरण अनुसार शाहीको पासपोर्ट नं ०९२८३८०४ हो ।

प्राप्त विवरण अनुसार, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोल को नेसनल सेन्ट्रल ब्यूरो एनसीबी सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई पत्राचार गरेपछि प्रधान कार्यालयले पनि आन्तरिक रुपमा अनुसन्धान थालेको छ ।

उक्त विवरण अनुसार, २९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेको हो । एनसीबी सिंगापुरले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरेको आंशका गरिरहेका तीन नेपालीको पृष्ठभूमिबारे जानकारी गराइदिन आग्रह गरेको हो ।आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेका कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह, र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको हो । महेन्द्रजंग शाह गैर आवासीय नेपाली संघ, मलेसियाको पुर्व अध्यक्ष भएको बताईएको छ ।

प्रहरी स्रोतका अनुसार, लामो समयदेखि दुबई मलेसिया बस्दै आपराधिक क्रियाकलापमा संलग्न रहेको आशंकामा महेन्द्रजंग शाहमाथि अरू देशका प्रहरीले निगरानी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।उनै शाहसँग केही समयअघि सिंगापुरमा डीएसपी हेमबहादुर शाही समेत घुमफिर गरेको तस्बिर सिंगापुर प्रहरीले पाएपछि उनको क्रियाकलापमाथि समेत चासो देखाएको हो ।महेन्द्र शाहले भियतनामी युवतीसँग विवाह गरेर दुबई, मलेसियालगायतका देश बस्ने गरेका छन् । उनलाई करिब आठ वर्षअघि नै मलेसियाबाट डिपोर्ट गरेर त्रिभुवन विमानस्थलस्थित प्रहरीलाई जिम्मा लगाएको समेत खुलेको छ ।मलेसियामा कार्यरत रहेका पूर्वराजदूत डा। निरन्जनमान सिंह बस्नेतका अनुसार, महेन्द्रले त्यहाँको पासपोर्ट डिमार्टमेन्टको सेटिङमा करिब २ सय नेपालीलाई नक्कली स्ट्याम्पदेखि स्टिकरसमेत नक्कली टाँसेर भिजिट भिसामा मलेसिया पुगेका नेपालीलाई लामो समय राखेको खुलेको थियो ।

डीएसपी शाही विवादित छविका प्रहरी अधिकारी हुन् । उनले प्रहरी निरीक्षकको तालिममै प्रहरी आचरणविपरीत काम गरेको आरोपमा नसिहत पाएका थिए ।त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार गरेका थिए । त्यस्तै कोहलपुर प्रहरी प्रमुख हुँदा समेत तरुण दलका एक कार्यकर्तालाई गोली हान्ने धम्की दिएपछि विवादित बनेका थिए । हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन् । उनले तरुण दलका एक कार्यकर्ता सन्दीपजंग शाहसहित छ जनालाई पक्राउ गरेर( तेरो र मेरो वार भयो भाइ‘तिघ्रा छेडिदिन्छु भनेको अडिओ सार्वजनिक भएसँगै उनी विवादमा मुछिएका थिए।इन्टरपोलले महेन्द्रजंग शाहको सम्बन्ध रहेको भनेर शंका गरेको अतिवादी संगठन आईएसआईएस हो । आईएसआईएसको पुरा नाम स्लामिक स्टेट अफ इराक एण्ड सिरिया हो । अहिले यसलाई आईएस अर्थात केवल इस्लामिक स्टेट भनेर चिनिन्छ । खाडी मूलुक र अफ्रिकी मूलुकमा आईएसको ठूलो सञ्जाल बिस्तार भइसकेको छ ।इराक र सिरियाका थुप्रै भागमा कब्जा जमाएको आईएस इजिप्ट, नाईजेरिया लगायतका थुप्रै अफ्रिकी देशमा समेत आफ्नो प्रभूत्व स्थापित गर्न सफल छ । अहिले आईएससँग अन्य थुप्रै संगठनहरु जोडिएका छन् । सन् २००६ मा आईएस आतंककारी संगठन अलकायदासँग जोडिएको थियो । बिन लादेनको हत्यापछि आतंकवादको अन्त्य हुने पश्चिमा विश्वले गरेको दाबी विपरित आईएसको प्रभाव दिन प्रतिदिन बढ्दो छ । इराकमा सद्धाम हुसेनको शासन अन्त्य भएपछि विकसित संकक्रमणका बीच आईएस शक्तिशाली बन्दै गएको हो ।

आईएससँग झन्डै ४० हजार सैनिक रहेको बताइएको छ । त्यसबाहेक आईएसमा अन्य थुप्रै व्यक्ती सहभागि छन् । इराक, सिरिया र अन्य देश समेत गरेर आईएसमा दुई लाखभन्दा बढी व्यक्ति संलग्न रहेको बताइएको छ । सन् २०१४ को जूनमा आईएससँग १५ हजार सैन्य दस्ता रहेको अनुमान लगाइएको छ । एक वर्षभित्र यो संख्या बढेर ४० हजारको आसपास पुगेको बताइन्छ ।विश्वमा सुन्नी इस्लामिक राज्य खडा गर्ने उद्देश्यमा खुलेका अन्य विश्वव्यापी आतंकवादी संगठनभन्दा निकै छिटो आफ्नो संगठन बढाउन सफल यो अहिले पनि अझै विस्तार हुँदैछ । तालिवान र अलकायदा जस्तै उद्देश्य भए पनि यो संगठन अन्य संगठनभन्दा निकै चुस्त, सांगठनिक र आर्थिक रूपले बलियो र कट्टर देखिएको छ । साभार फोटो र समाचार कान्तिपथ अनलाइन बाट

  • २२ भाद्र २०८१, शनिबार प्रकाशित
  • Nabintech