१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
जाजरकोटमा २०७४ को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा र अबको अबस्था
जाजरकोटमा २०७४ को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा र अबको अबस्था
  • paschimpatra

जाजरकोट । सरकारले ३० बैशाख २०७९ मा स्थानीय तहको चुनाव एकै चरणमा गर्ने घोषणा सगैँ राजनितिक माहोल तातिएको छ, राजनीतिक दलका नेता कार्यकर्ता आ–आफ्नो जोड घटाउमा लागेका छन् । सामाजिक सञ्जाल, चिया पसल देखी गाँउ शहरमा चर्चा शुरु भएको छ । दलहरु पनि आफ्ना रणनिति बनाउन लाग्ने देखिएको छ ।

चुनावी माहोलले सबैलाई विगतमा दलहरुको अवस्था कस्तो थियो र अबको चुनावमा कुन दलले बाजी मार्ला भन्ने कौतुहलता जगाउछ नै । मुलुक संघीयतामा गएपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जाजरकोटका ७ वटा स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमा नेकपा (एमाले), समान २/२ वटा स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसले जितेका थिए ।

यद्यपि, समय परिवर्तन सगैँ अघिल्लो चुनाबको तुलनामा अहिले राजनीतिक दलहरूको अवस्था र समीकरण फेरिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा सबै भन्दा ठूलो दल बनेको नेकपा एमाले अहिले फुटेको छ । एमाले र माओवादि केन्द्रको एकता पछि बनेको नेकपा ३ टुक्रा त्यसमा पनि नेकपा एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको छ । एमाले फुट्दा केही स्थानीय तहका जनप्रतिनिधि नेपाल नेतृत्वको समाजवादीमा पनि गएका छन् । अबको स्थानीय तह निर्वाचनमा एमाले फुटको असर पर्ने नै छ ।
एमालेका अध्यक्ष केपि शर्मा ओलीले २।२ पटक संसद विघटन गरे सगैँ फेरीएको राजनितिक समिकरणमा नेपाली राजनितिमा दुई खेमामा विभाजन देखिएको छ । ५ दलिय गठबन्धन(नेपाली कांग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादी ) लगायतका ठुला दल एकातिर देखिएका छन् भने एमाले लगाएत केही साना दल एकातिर । मधेश प्रदेश बाहेक सबै प्रदेशमा सरकारको नेतृत्व गरेको तत्कालीन नेकपा ३ टुक्रामा विभाजन भएपछि सबैभन्दा नोक्सान एमालेलाई भएको छ भने यसको धेरै फाइदा नेपाली कांग्रेसले लिएको छ ।

त्यतिबेलाको परिस्थितिमा केही फेरबदल भएको बेला आगामी निर्वाचनमा कुन खालको गठबन्धन बन्छ वा बन्दैन र त्यसलाई मतदाताले कसरी लिन्छन्, नतिजा मूलतः त्यसैमा निर्भर गर्ला । हामीले यहाँ भने गत निर्वाचनको चुनावी मतपरिणामलाई केलाउने प्रयास गरेका छौं । २०७४ को स्थानीयत निर्वाचनमा जिल्लाका ७ स्थानीय तहमा कसले कति मत ल्याएका थिए । त्यसबारेमा चर्चा गर्ने छौं ।

भेरी नगरपालिका
२०७४ को स्थानीय तहको निर्वाचनमा यो नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेले जित हासिल गरेको हो । भेरी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का चन्द्र प्रकाश घर्तीले ४ हजार २ सय ९२ मत प्राप्त गरि बिजयी भएका थिए । उपप्रमुखमा पनि एमालेकै भावना भण्डारीले ४ हजार १ सय ६२ मत प्राप्त गरि बिजयी भएकी थिइन । अहिले एमाले विभाजन भएको छ । एमाले बाट विजयी भएका २ जना वडा अध्यक्ष सहति केही जनप्रतिनिधिहरु एकिकृत समाजवादीमा गएका छन् । नेपाली कांग्रेसबाट प्रमुखमा उम्मेद्वार बनेका सनत कुमार कार्कीले ३ हजार ७ सय ८७ मत प्राप्त गरेका थिए । कांग्रेसबाट उपप्रमुखकी उम्मेद्वार बनेकी धन कुमारी चपाईले ३ हजार ४ सय ८३ मत प्राप्त गरेकी थिईन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा चुनाव लडेका ढक विर रानाले ३ हजार ४ सय ११ मत प्राप्त गरेका थिए भने उपप्रमुखमा (माओवादी केन्द्र)की कृष्णा शर्माले ३ हजार ५ सय ४ मत प्राप्त गरेकी थिइन ।

छेडागाड नगरपालिका
२०७४ को स्थानीय तहको निर्वाचनमा यो नगरपालिकामा पनि प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेले जित हासिल गरेको हो । प्रमुखमा नेकपा (एमाले) का लाल बहादुर महताराले ५ हजार १ सय ३६ मत प्राप्त गरि बिजयी भएका थिए । उपप्रमुखमा पनि एमालेकै सरीता वलीले ५ हजार १ सय ४७ मत प्राप्त गरि बिजयी भएकी थिइन । नेपाली कांग्रेसबाट प्रमुखमा उम्मेद्वार बनेका रत्न बहादुर खड्काले ४ हजार ३ सय ४७ मत प्राप्त गरेका थिए । कांग्रेसबाट उपप्रमुखकी उम्मेद्वार बनेकी रेशमा खत्रीले ४ हजार २ सय ६० मत प्राप्त गरेकी थिईन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा चुनाव लडेका चन्द्र बहादुर थापाले २ हजार ६ सय ६८ मत प्राप्त गरेका थिए भने उपप्रमुखमा (माओवादी केन्द्र)की धर्मसिला बस्नेतले २ हजार ७ सय २२ मत प्राप्त गरेकी थिइन ।

नलगाड नगरपालिका
नलगाड नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले प्रमुख र उपप्रमुख दुबै पदमा बिजय हाँसील गरेको थियो । नेकपा (माओवादी केन्द्र) का टेक बहादुर रावलले ३ हजार ४ सय १८ मत पाएर बिजयी हुँदा माओवादी केन्द्रकै बाल कुमारी बस्नेत ३ हजार २ सय ४१ मत पाएर उपप्रमुखमा बिजयी भएकी थिइन् । यो नगरपालिकामा दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको थियो । नेपाली कांग्रेसका छवी पन्तले २ हजार ८ सय ९८ भोट पाउँदा कांग्रेसकै धनमाया शाहीले उपप्रमुखमा २ हजार ९ सय १२ भोट पाएकी थिईन् । नेकपा एमालेबाट प्रमुखमा चुनाव लडेका नवेन्द्र नेपालीले २ हजार ६ सय ७४ पाएका थिए । उप प्रमुखमा सुनिता बोहराले २ हजार ६ सय २६ मत पाएकी थिइन् ।

कुशे गाउँपालिका
यो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेद्वार बिजय भएका थिए । नेपाली कांग्रेसका हरी चन्द्र बस्नेतले २ हजार ५ सय ८ भोट पाएर बिजयी हुँदा उनका प्रतिष्पर्धी नेकपा एमालेका तप्त बहादुर हमालले २ हजार ४४ मत प्राप्त गरेका थिए । उनी अहिले नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै रामछाया कुमारी शाही बिजयी भइन् । उनले २ हजार ३ सय ७८ भोट पाउँदा नेकपा एमालेबाट उपाध्यक्ष पदमा चुनाव लडेकी गंगा कुमारी रोकायले १ हजार ९ सय ८८ मत प्राप्त गरिन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा चुनाव लडेका जनकराज गौतमले १ हजार ८ सय १५ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षकी उम्मेद्वार अम्बिका बस्नेत सिहं ले १ हजार ७ सय ३१ मत पाइन् ।

बारेकोट गाउँपालिका
यस गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र शाहीले २ हजार १ सय ४८ मत प्राप्त गरि बिजयी भएका थिए । उपाध्यक्षमा भने माओवादी केन्द्रकी ओम शाहीले २ हजार २ सय २४ मत प्राप्त गरि बिजयी भइन् । अध्यक्षमा नेकपा माओवादी दोस्रो स्थानमा रह्यो । माओवादीका तिलक बहादुर रावतले २ हजार १ सय २९ मत प्राप्त गरे भने नेकपा एमालेका उमेदवार मिम बहादुर सिंहले २ हजार १ सय ७ मत प्राप्त गरेका थिए । अध्यक्षमा जितेको कांग्रेसले उपाध्यक्षमा भने तेस्रो स्थानमा रह्यो । उपाध्यक्षकी उम्मेद्वार कालु कुमारी ज्योतीले १ हजार ८ सय ३२ मत पाइन् । उपाध्यक्षमा एमालेकी गीता कुमारी सिंहले २ हजार १ सय ९७ मत प्राप्त गरि दोस्रो भइन् ।

शिवालय गाउँपालिका
यँहा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेद्वार बिजय भएका थिए । एमालेका नरेन्द्र कुमार शाहीले २ हजार ७३ भोट पाएर बिजयी हुँदा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका खडक बहादुर बुढाले १ हजार ८ सय ३३ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि नेकपा एमालेकै कुमारी थापा बिजयी भइन् । उनले २ हजार ६३ भोट पाउँदा नेपाली कांग्रसबाट उपाध्यक्ष पदमा चुनाव लडेकी गिता कुमारी सिंह शाहीले १ हजार ८ सय १२ मत प्राप्त गरिन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा चुनाव लडेका लाल बहादुर थापाले १ हजार २ सय ५० मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षकी उम्मेद्वार लक्ष्मी केसीले १ हजार १ सय ८७ मत पाइन् ।

जुनिचाँदे गाउँपालिका
यस पालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार बिजय भएका थिए । माओवादी केन्द्रका कृष्ण बहादुर केसीले २ हजार ७ सय ७० भोट पाएर बिजयी हुँदा उनका प्रतिष्पर्धी नेकपा एमालेका बेद बहादुर शाहीले २ हजार २ सय ७४ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि माओवादीेकै शिवा आचार्य बस्नेत बिजयी भइन् । उनले २ हजार ७ सय ७८ भोट पाउँदा नेकपा एमालेबाट उपाध्यक्ष पदमा चुनाव लडेकी अम्वा कुमारी शाहले २ हजार २ सय ६६ मत प्राप्त गरिन् । नेपाली कांग्रसबाट अध्यक्ष पदमा चुनाव लडेका सर्प राज रावतले १ हजार ९ सय १८ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षकी उम्मेद्वार तुलसी देवि शाहीले १ हजार ९ सय ३८ मत पाइन् ।

आगामि हुने निर्वाचनमा कस्तो होला परिणम ?
अब हुने निवार्चनमा भने एमालेलाई चुनाव जित्न मुस्किल पर्ने देखिएको छ । एमाले फुटेको अबस्था त्यसमा पनि ५ दलिय गठबन्धन कायम रहेमा एमालेले सबै पालिका गुमाउन सक्छ । गठबन्धनबाट काँग्रस बाहिर रहेपनि नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादी विचको तालमेल हुने करिब निश्चित रहको राजनितिक बिश्लेषकहरु बताउछन् । यँहा एमाले, काँग्रेस र नेकपा माओवादि केन्द्र/नेकपा एकिकृत समाजवादी गठबन्धन बिच तकराव हुने देखिन्छ । यसो हुँदा एमाले कमजोर अबस्थामा रहन्छ भने नेकपा माओवादि केन्द्र/नेकपा एकिकृत समाजवादीको गठबन्धनले चुनाबमा बाजी मार्ने अनुमान गर्न सकिन्छ ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech