१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
शिक्षकलाई निजामती कर्मचारी सरह सेवासुविधा दिने : मन्त्री पौडेल
शिक्षकलाई निजामती कर्मचारी सरह सेवासुविधा दिने : मन्त्री पौडेल
  • paschimpatra

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो ।

“यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउँछ”, मन्त्री पौडेलले भन्नुभयो, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भएपनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो ।

शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उहाँको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रकृया अगाडि बढाइएको बताउनुभयो ।

शिक्षक सेवा आयोगको ११ औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले गति लिएको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले शिक्षक महासंघका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको बताउनुभयो । विद्यालय समायोजनको प्रकृया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयहरुको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उहाँको भनाइ छ ।

मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उल्लेख गर्नुभयो । उहाँले संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन निर्माणमा मन्त्रालयले गर्नुपर्ने काम सकिएको बताउँदै अन्य मन्त्रालयसँग छलफल गरी मन्त्रिपरिषद्मा लैजाने तयारी भएको बताउनुभयो ।

मन्त्री पौडेलले ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले ताराखोलामा आधुनिक सुविधायुक्त पुस्तकालय निर्माणका लागि मन्त्रालयमार्फत पहल लिने बताउनुभयो ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित
  • Nabintech