२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
राष्ट्रिय गीत लेखन प्रतियोगितामा जाजरकोटका क्षितिज कर्णालीबाट उत्कृष्ट
राष्ट्रिय गीत लेखन प्रतियोगितामा जाजरकोटका क्षितिज कर्णालीबाट उत्कृष्ट
  • paschimpatra

जाजरकोट । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको राष्ट्रिय गीत लेखन प्रतियोगितामा जाजरकोटका राम कुमार शाही (क्षितिज समर्पण) कर्णाली प्रदेशबाट उत्कृष्ट भएका छन्।

प्रतिष्ठानले उनीसहित हरेक प्रदेशबाट एक/एक जनालाई उत्कृष्ट छनोट गर्दै आइतबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा आयोजित विशेष समारोहमा पुरस्कृत समेत गरेको छ।

प्रतिष्ठानले गत जेठ १५ गते एक सूचना जारी गर्दै राष्ट्र, राष्ट्रियता र गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुर्‍याउने राष्ट्रिय भावको गीत लेखनका लागि सार्वजनिक आह्वान गरेको थियो। सोही बमोजिम देशभरबाट करिब दुई सय जना स्रष्टाहरूले शब्द रचना पठाएको प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले बताइन्। उनका अनुसार कर्णालीबाट १५ जना स्रष्टाले गीत रचना गरेर पठाएका थिए।
प्राप्त रचनामध्येबाट निर्णायक मण्डलले हरेक प्रदेशबाट एक/एक वटा उत्कृष्ट गीत छनोट गरेको हो। यी सबै गीतलाई रेकर्ड गरिने सदस्य सचिव महराले बताइन्। यिनैमध्येका सर्वोत्कृष्ट तीन वटा गीतको म्युजिक भिडियो समेत निर्माण गरिने प्रतिष्ठानले जनाएको छ।

स्रष्टाहरूलाई प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भु राई लगायतले जनही १५ हजार नगद, दोसल्ला र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए।

कथा, कविता, गीत, गजल लेखनमा सक्रिय क्षितिजले यसअघि लेखेको शब्द कर्णाली प्रदेशको खेल गीतका रूपमा उत्कृष्ट शब्द रचनाका रूपमा छनोट भएको थियो। उनका शब्दमा रहेका केही लोक र आधुनिक गीत रेकर्ड भइसकेका छन्। उनी यसअघि २०७५ सालमा भएको एक राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएका थिए भने, बाह्रखरी कथा प्रतियोगितामा लगातार दुई वर्ष (२०७५/२०७६) उत्कृष्ट २५ मा परेका थिए। जुन कथाहरू संयुक्त संग्रहमा प्रकाशित छन्। उनको एकल गजल संग्रह र संयुक्त गजल संग्रह समेत प्रकाशित छन्।

  • १७ असार २०८१, आईतवार प्रकाशित
  • Nabintech