५ जेष्ठ २०८१, शनिबार
५ जेष्ठ २०८१, शनिबार
लागुपदार्थ दुर्व्यसन न्युनिकरण गर्न भेरी नगरपालिकाकाे अभियान
लागुपदार्थ दुर्व्यसन न्युनिकरण गर्न भेरी नगरपालिकाकाे अभियान

सार्वजनिक स्थलमा रक्सी चुरोट सेवन गरेमा नगरपालिकाले कारवाही गर्ने

  • paschimpatra

जाजरकोट । भेरी नगरपालिकाले लागुपदार्थ दुर्व्यसन न्युनिकरण गर्न अभियान सुरू गएको छ ।

नगरभित्रका किशोरकिशोरी तथा यूवाहरुलाई लागुपदार्थ दुर्व्यसन बाट मुक्त गर्न एक्सन सहित अभियानको सुरुवात गरेको हो । जस अन्तर्गत सार्वजनिक स्थलमा रक्सी चुरोट सेवन गरेमा नगरपालिकाले कारवाही गर्ने भएको छ । युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो तर पछिल्लो समय लागुपदार्थ दुर्व्यसन जस्ता क्रियाकलापमा फसेकोले त्यसबाट मुक्त गर्न अभियानको सुरुवात गरिएको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

‘युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन्, नगरप्रमुख घर्तीले भने, साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ ।’

तर पछिल्लो समय नगरभित्रका यूवाहरु लागुपदार्थको लतमा फसेको, विद्यालय छोड्ने यूवाको संख्या बढेको जनगुनासोका आधारमा नगरपालिकाले लागुपदार्थ रोकथाम तथा दुर्व्यसनी विरुद्धको अभियान सुरु गरेको बताए । अभियानका लागि नगरले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

अभियान सफल पार्नका लागि लागु औषध उत्पादन र विक्रि वितरण गरिने क्षेत्र पहिचान गरी उत्पादन नष्ट गर्ने निर्णय गरिएको अभियानका फोकल पर्सन शिक्षा अधिकृत अमृतबहादुर पुनले जानकारी दिए । उनका अनुसार, लागुऔषध ओसारपसार गर्ने नगरभित्रका मुख्य नाकाहरु रिम्ना, धल्ला, छेडा, मटेला, कालेगाउँ कुदु, पाँचकाटियामा निगरानी वढाउने, सार्वजनिक स्थलमा मद्यपान/धुम्रपान पुर्ण प्रतिवन्ध लगाउने र उल्लंघनकर्तालाई प्रचलित कानून वमोजिम कारवाही गरिने निर्णय गरिएको छ ।

यस्तै, लागुऔषध उत्पादन र विक्री वितरण सम्बन्धी सूचना दिने नागरिकलाई पुरस्कृत गर्ने निर्णय समेत गरिएको छ । लागुपदार्थ ओसारपसार गर्नेलाई तत्काल नियन्त्रणमा दिई कार्वाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको छ । लागु पदार्थ दुर्व्यसन तथा नियन्त्रण गर्ने प्रयोजनका लागि सुचना तथा तथ्यांक संकलन गर्ने जिम्मेवारी प्रहरीलाई दिईएको फोकल पर्सन पुनले बताए । जोखिममा रहेका युवालाई पहिचान गरेर उपचारका लागि पुर्नस्थापना केन्द्रमा पठाउने निर्णय समेत गरिएको छ ।

  • २३ बैशाख २०८१, आईतवार प्रकाशित
  • Nabintech