२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
पृथ्वीनारायण शाहको खड्ग जाजरकोट दरबारमा
पृथ्वीनारायण शाहको खड्ग जाजरकोट दरबारमा
  • पवन शर्मा

जाजरकोट । तत्कालिन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा दुई सय ५५ वर्ष अघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको शक्तिको प्रतिक खड्ग अर्थात तरवार बडा दशैको फुलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरवारमा भित्र्याइएको छ ।

वडादशैंका अवसरमा फुलपाती भित्र्याउने कार्यक्रम अनुसार जाजरकोट राज्यको शक्तिको प्रतीकको रुपमा रहेको उक्त खड्ग आइतवार भेरी नगरपालिका ४ रानागाँउ स्थित २ सय २८ वर्ष पुरानो कालिका मन्दिरवाट जाजरकोट दरवारमा भित्रयाइएको हो । स्थानीय सर्वसाधारणहरु, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरुको व्यापक सहभागितामा शंख ध्वनी सहित भेरी नगरपालिका ४ गैरीखालीमा पुजाआजा र सलामी दिएर उक्त खड्गलाई जाजरकोट दरवार लगिएको हो ।

विक्रम सम्वत १८२५ माघ ५ गते काँसीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालिन जाजरकोटी राजा हरि शाहसंग नेपाल एकीकरण अभियान सफल पार्ने उद्धेश्यले धर्मसन्धी गर्दै उक्त खड्ग (तरवार) जाजरकोट राज्यलाई उपहार स्वरुप दिएका थिए ।

दुइ राज्यका विचमा एक अर्कालाइ सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग शक्तिको प्रतिकको रुपमा जाजरकोटी राजालाई दिइएको जाजरकोट राज्यको इतिहासबारे जानकार जनक केसीले बताउनुभयो । उहाँले झन्डै ७ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त खड्ग १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दशैंको फुलपातीका दिन विशेष पुजाआजा सहित जगतिपुरवाट खलंगा दरवारमा ल्याउने परम्परा सुरु भएको बताउनुभयो ।

फुलपातीका दिन विशेष पुजाआजा सहित बली दिएर जाजरकोट दरबारमा रहेको जमारा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ । वली दिन र खड्ग भित्र्याउन लाग्ने रकम शूरुमा दरबारबाट र पछि गृहमन्त्रालयबाट आउने गरेपनि मुलुकमा गणतन्त्र आईसकेपछि रकम पठाउन छोडिएको छ ।

जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ । पहिला राजाले गर्ने खड्ग पुजा २०१८ साल पछि राज्य रजौटा उन्मुलन सँगै प्रमुख जिल्ला अधिकारीले गदै आएका छन् ।

जगतिपुरमा रहेको जाजरकोट राज्य र देवताको शक्तिलाइ विस्तारै खलंगा स्थित दरवारमा सार्ने उद्देस्यले प्रत्येक वर्ष फुलपातीका दिन पुजाआजा सहित उक्त खड्गलाइ खर्के देउताको रुपमा पुज्दै ल्याउन थालिएको हो । फुलपातीका दिन जाजरकोट दरवारमा भित्रयाइएको उक्त खड्गलाइ दशैंको फुलपाती अर्थात सप्तमी, महाअस्टमी, महानवमी र विजयादशमीको दिन सम्म पन्चे वाचाको ध्वनीका साथ वोका, रांगाको वलि दिएर भव्य रुपमा पुजा आजा गरि दशमीकै दिन टीका लगाईसकेपछि जगतिपुरमै फर्काउने परम्परा रहे पनि मुलुकको १० वर्षे द्धन्दका क्रममा असुरक्षाका कारण उक्त खड्ग १७ वर्ष अघि देखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको छ ।

पृथ्वीनारायण शाह दिएको शक्तिको प्रतिक खड्ग फुलपाती सँगै भित्र्याईयो जाजरकोट दरवारमा अव शान्ति आइसकेकोले खड्गलाइ जगतिपुरको मन्दिरमै राख्नु पर्ने आवाज पनि उठ्न थालेको छ ।
जाजरकोटी शाह ठकुरीहरुले मुख्य जिम्मा लिएर मनाइने खर्के देउता पुजा अहिले ओझेल पर्दै गएको छ । विगतमा खर्के देउताको पुजाका वेला स्थानीयहरुको जाजरकोट दरवारमा ठुलो मेला लाग्ने गरेको स्थानिय खम्बजंग शाहले वताउनुभयो । जाजरकोटको इतिहास, सस्कृति र परम्पराको पहिचान झल्काउने खर्के देउता पुजा विगतमा स्थानीय जनता सरकारी कार्यालयको सक्रियतामा गर्ने गरिएपनि अहिले सवैले विर्सदै गएको शाहको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले खड्ग देवताको पुजा गर्ने र जाजरकोट दरवारमा खड्ग ल्याउने मौलिक परम्पराको जगेर्ना गर्न आफुले सक्दो पहल गर्ने वताउनुभयो । संस्कृति र परम्पराको निरन्तरता दिएर इतिहासलाई जोगाइ राख्नु सवैको कर्तब्य र दायित्व रहेको प्रजिअ सुनारको भनाई छ ।

  • ४ कार्तिक २०८०, शनिबार प्रकाशित
  • Nabintech