७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
कर्मचारीहरूलाई मन्त्री सिंहको आग्रह “उच्च मनोबलसहित काम गर्नुहोस्”
कर्मचारीहरूलाई मन्त्री सिंहको आग्रह “उच्च मनोबलसहित काम गर्नुहोस्”
  • Paschimpatra

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले कर्मचारीहरूलाई उच्च मनोबलसहित काम गर्न आग्रह गर्नुभएको छ।

सोमबार प्रदेश लेखा नियन्त्रक कार्यालयको नवनिर्मित भवनको उद्‌घाटन गर्दै मन्त्री सिंहले सबै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले जबसम्म कर्मचारीले उच्च मनोबलका साथ काम गर्न सक्दैनन् तबसम्म विकास र समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।

‘कानुनी र विधिसम्मत हुने कुरामा म तपाईंहरूको पहरेदार बन्न तयार छु। अभिभावक बन्न तयार छु’, मन्त्री सिंहले भन्नुभयो, ‘तपाईंहरू उच्च मनोबलका साथ काम गर्नुहोस् । तपाईंहरूको मोरल हाइ बनाउन मैले के गर्नुपर्छ त्यसका लागि तयार छु। तपाईं–हामी मिलेर नै कर्णालीलाई समृद्ध बनाउने हो।’

मन्त्री सिंहले कार्यान्वयन गर्न सकिने योजना मात्र तर्जुमा गर्न पनि भन्नुभएको छ। अब बजेट निर्माणको तयारीमा जुट्ने समय आएको भन्दै मन्त्री सिंहले कार्यक्रम तर्जुमा गर्ने तर सञ्चालन गर्न नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताउनुभयो।

जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने काम नगर्ने हो भने चरम निराशा उत्पन्न हुने भन्दै मन्त्री सिंहले जनतालाई प्रत्यक्ष राहत महसुस हुनेगरि नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभयो।

‘जनतालाई भ्रममा राखेर अघि बढ्ने छुट छैन । कार्यान्वयन गर्न नसक्ने योजना तर्जुमा नगरौं । प्रदेशलाई नमूना बनाउने हो । त्यो जिम्मेवारी तपाईं–हाम्रै काँधमा छ । जनतामा देखिएको निराशालाई कम गर्दै अघि बढ्ने हो’, मन्त्री सिंहले भन्नुभयो।

मन्त्री सिंहले जेठ १५ गतेपछि हुने रकमान्तर रोक्ने समेत उद्घोष गर्नुभयो।
पाँच करोड लागत अनुमान गरिएको भवन २०७८ वैशाख ११ गते शिलान्यास गरिएको थियो। २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरि सम्झौता गरिएकोमा सम्झौता अवधिभन्दा ८ महिना अगावै निर्माण सम्पन्न भएको इन्जिनियर रामकृष्ण आचार्यले जानकारी दिनुभयो। भवन निर्माणमा ४ करोड ७ लाखमा निर्माण भएको आचार्यले बताउनुभयो। चारतले भवनमा जम्मा ३३ वटा कोठा रहेका छन्। हरेक तलाको उचाई तीन मिटर र हरेक तलामा ८ कोठा रहेको इन्जिनियर आचार्यले बताउनुभयो।

अपांगमैत्री रहेको भवनमा फायर सेन्सर समेत जडान गरिएको छ। यो भवन प्रदेश संरचना बनेपछि निर्माण भएको पहिलो सरकारी भवन रहेको प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले बताउनुभयो । उहाँले यो भवन सातै प्रदेशमध्ये प्रदेश लेखा नियन्त्रक कार्यालयको पहिलो भवन रहेको समेत बताउनुभयो।

कार्यक्रममा भवन निर्माणमा प्राविधिक सहयोग गर्ने संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर रामकृष्ण आचार्य र सम्झौताको समय अगावै भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी शिवशक्ति चक्रेश्वरी जेभीलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो।

  • ११ बैशाख २०८०, सोमबार प्रकाशित
  • Nabintech