१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
समानुपातिकमा सकस : प्रमुख पार्टीले बन्दसूची सोमबारमात्रै बुझाउने
समानुपातिकमा सकस : प्रमुख पार्टीले बन्दसूची सोमबारमात्रै बुझाउने
  • paschimpatra

जाजरकाेट । प्रमुख राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा लगायतका राजनीतिक दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बनाउन सकस परेको छ । आकांक्षीहरु अत्यधिक भएपछि नेतृत्वलाई बन्दसूची तयार गर्न सकस भएको हो ।

आकांक्षीको संख्या तेब्बरसम्म भएपछि प्रमुख राजनीतिक पार्टीहरुले सोमबारमात्रै बन्दसूची पेश गर्ने तयारी थालेका छन् । प्रमुख राजनीतिक पार्टीका नेताहरुले आफुहरु आइतबार पनि समानुपातिकको सुची तयार गर्ने गृहकार्यमै लागेको र सोमबार पनि सुची बुझाउने समयसीमा रहेकाले सोही दिन सुची बुझाउने गृहकार्यमा लागेको बताएका छन् ।

समानुपातिक सुची तयार गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा बस्ने बैठकले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ ३३० को सुची बनाउँदै छ । एमाले केन्द्रीय निर्वाचन आयोग विभाग उपप्रमुख नीरज आचार्यले आइतबार बस्ने सचिवालयले बन्दसूची फाइनल गर्ने र भोली सोमबार सुची बुझाउन आयोग जाने तयारी भइरहेको बताए ।

‘आयोगको मापदण्ड अनुसारको समानुपातिक तर्फको बन्दसूची सोमबार आयोगलाई बुझाउने एमालेको तयारी छ’, आचार्यको भनाइ छ । यसअघि शनिबार बसेको एमाले सचिवालय बैठकमा समानुपातिकको बन्दसूचीबारे सामान्य कानुनी प्रक्रिया र संख्याबारे मात्रै छलफल भएको थियो ।

त्यस्तै नेपाली कांग्रेसले पनि समानुपातिकको बन्दसूची सोमबार नै बुझाउने तयारी गरेको छ । विगत चार दिनदेखि कांग्रेसको लगातार बैठक बस्दै आएपनि बन्दसूची तयार पार्न सकस पर्दा ढिलाई भएको नेताहरुको भनाइ छ । आइतबार कांग्रेस संसदीय समितिको बैठकमार्फत सामानुपातिक सुचीमा राख्ने नामबारे छलफल भएपनि टुंगोमा पुग्न नसकेको बताइएको छ । नेताहरुबीच लगातार छलफल गरेर आइतबार बेलुकासम्म सुची टुंग्याउने तयारीमा लागेका छन् । यसअघि सहमहामन्त्रीहरुले क्लस्टर अनुसार समानुपातिकमा सिफारिस भएकाहरुले सुची पेश गरेका छन् । ती नामहरूमाथि छलफल गरेर निर्णयमा पुग्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

यस्तै नेकपा माओवादी केन्द्रमा पनि समानुपातिक सुची टुंग्याउन सकस परेको छ । जिल्ला र प्रदेशबाट अत्याधिक नाम सिफारिस भएपछि माओवादीले पुन प्रदेशलाई समानुपातिकको सर्ट लिष्ट पठाउन निर्देशन दिएको छ । प्रदेशले आइतबार बेलुकासम्म सर्ट लिष्ट पठाएपछि पुन सोमबार पदाधिकारी बैठक बसेर सुची फाइनल गर्ने माओवादीको तयारी छ ।

आइतबार विहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक लिष्टको संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको सचिव गणेश शाहले बताए । ‘सात भौगोलिक र तीन गैरभौगोलिकबाट समानुपातिकमा धेरै जनाको नाम केन्द्रमा आयो । कसलाई राख्ने कसलाई फाल्ने गाह्रो भयो’ रातोपाटीसँग कुरा गर्दै शाह भने,‘त्यसैले सबै प्रदेशलाई पुनः एक पटक सर्ट लिष्ट गरेर नाम पठाउन निर्देशन दिएका छौ । प्रदेशले सर्ट लिष्ट गरेर पठाएपछि भोलि बस्ने पदाधिकारी बैठकले निर्णय गर्छ ।’

प्रदेशबाट तेब्बरको संख्यामा समानुपातिक नाम सिफारिस भएपछि पदाधिकारी बैठकले नाम छनोट गर्न नसकेको शाहको भनाइ छ । आइतबार बसेको पदाधिकारी बैठकले अन्तरिम विधायकबाहेक एक पटक समानुपातिक सांसद भई सकेकालाई नहोर्‍याउने विषयमा छलफल भएको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए ।

‘समानुपातिक सांसद बनाउँदा राखिने मापदण्डका विषयमा बैठकमा गम्भीर छलफल भयो । अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई नदोहोर्‍याउने भन्ने छ’ पोखरेलले भने, ‘गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा पराजित भएका र राजनीतिक नियुक्ति लिई सकेका व्यक्ति समानुपातिकमा नराख्ने भन्ने छ । अरु यसअघि बनाएको मापदण्डलाई कडाइका साथ पालना गर्ने भन्ने छ ।’ समानुपातिक लिष्टमा राख्ने व्यक्ति भन्दा मापदण्डमा बढी केन्द्रीत भई छलफल भएको पोखरेलले बताए ।

त्यस्तै जसपामा पनि समानुपातिक सूची तयार गर्न शनिबारदेखि लगातार बैठक बसिरहेको छ । अर्को दल नेकपा एकीकृत समाजवादीले समानुपातिक सूची तयार गर्न आइतबार बेलुका ४ बजे सचिवालय बैठक बोलाएको छ । महासचिव डा। बेदुराम भुसालले सचिवालय बैठक बसेर समानुपातिक सुची तयार गर्ने बताए । ‘आइतबार बेलुका ४ बजे सचिवालय बैठक बसेर सुची तयार गर्छौ र सोमबार मात्रै आयोगमा बुझाउँछौ’, महासचिव भुसालको भनाइ छ ।

यसैगरी राप्रपाले पनि सोमबार मात्रै बन्दसूची बुझाउने भएको छ । जिल्लाबाट प्राप्त भएका नामहरुलाई अन्तिम रुप दिने क्रम जारी रहेको र भोलि अन्तिम रुप दिएर आयोगमा बन्दसूची बुझाइने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित
  • Nabintech